बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराजा र काँग्रेस महामन्त्रीको थाइल्याण्ड भ्रमण : संयोग कि योजनाबद्ध ?

शुक्रबार, ३१ साउन २०७६, ११ : ४७
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं–नेपाली काँग्रेसभित्र महामन्त्री डा शशांक कोइरालासहित केही नेताहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने लबिङ गर्दै आएको विषय नौलो होइन । 

पार्टीको जिम्मेवार पदमा रहेपनि डा कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

पार्टीको लाइनविपरित अभिव्यक्ति दिँदै आएको आरोप खेप्दै आएका कोइरालाको पछिल्लो विदेश भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाह हाल थाइल्याण्ड भ्रमणमा रहेकै अवस्थामा डा कोइरालाको पनि थाइल्याण्ड भ्रमण भएकाले कतिपयले उनको भ्रमणलाई शंकाको दृष्टिकोणले हेरेका छन् । 

२७ साउनमा महामन्त्री कोइराला पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठक छोडेर श्रीमती डा. सुपात्रा र छोरी सुप्रियासँगै थाइल्याण्ड गएका हुन् । सोअघि पूर्वराजा ज्ञानेन्द्र शाह पनि गत २४ गते थाइल्याण्ड गएका थिए । 
तर, डा कोइरालाका स्वकीय सचिव भरत तिवारीले छोरी सुप्रिय अमेरिका जाने हुँदा उनलाई छोड्नका लागि महामन्त्री कोइराला पनि थाइल्याण्डसम्म गएको बताए ।  

छोरीलाई अमेरिका पठाएर कोइराला एक हप्तामै काठमाडौं फर्कने भन्दै उनले पूर्वराजा र कोइरालाको थाइल्याण्ड भ्रमण संयोगमात्रै भएको बताए ।  

सनातन हिन्दू राष्ट्र नेपाल नागरिक सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका काँग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराईले महामन्त्री कोइरालाको थाइल्याण्ड भ्रमणका क्रममा हिन्दु राष्ट्रको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुन सक्ने सम्भावनालाई भने नकारेनन् ।

उनले भने, ‘शशांक कोइरालाजीले हिन्दु राष्ट्रको विषयमा बेलाबेखत आफ्नो धारणा राख्दै आउनु भएको छ । उहाँले जसरी हिन्दु राष्ट्रको विषयमा धारणा राख्नु भएको छ । तर काँग्रेसमा त्यो अनकुलको वातावरण छैन । त्यसैले पनि उहाँले राजासँग यो विषयमा कुरा गर्नु खोज्नुभएको हुनुपर्छ ।’

भट्टराईले भनेजस्तै नेपाली काँग्रेसमा हिन्दु राष्ट्र पक्षधर नेताहरु भएपनि पार्टीमा अनुकूल वातावरण छैन । काँग्रेसका पुराना पुस्ताका नेता कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, शंकर भण्डारीलगायतले संघीयता र गणतन्त्रप्रति विमति प्रकट गर्दै आएका छन् । 

महासमितिमा ‘मौनता’, अहिले थाइल्याण्ड
गत मंसिर–पुसमा सम्पन्न काँग्रेस महासमिति बैठकमा पनि हिन्दु राष्ट्रको विषयले तरंग ल्याएको थियो ।

करिब ७ सय महासमिति सदस्यले हिन्दु राष्ट्रको विषयलाई छलफलको एजेण्डा बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलनसमेत गरेका थिए । 

यद्यपि पार्टी उपसभापति विमलेनद्र निधि र नेता कृष्णप्रसाद सिटौलाको जोडबलमा सो विषय महासमिति बैठकको एजेण्डा समेत बन्न सकेन । औपचारिक रुपमा कुनै छलफल पनि भएन । महासमिति बैठकअघि नै केन्द्रीय कार्यसमति बैठकमा धर्मनिरपेक्षताको विषयलाई लिएर झण्डै हात हालाहालको अवस्था आएपछि महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको विषयमा जोड नदिएको चर्चा भएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा शंकर भण्डारीलगायतले धर्मनिरपेक्षतालाई उपलब्धि भन्न सकिँदैन भनेपछि उपसभापति निधिले ‘प्रतिगामी कुरा नगरौँ’ भन्दा विवाद भएको थियो ।

सो विवादबाट झस्केर महामन्त्री कोइराला महासमिति बैठकमा ‘मौन’ बसेको काँग्रेस वृत्तमा चर्चा हुने गरेको छ । हिन्दु राष्ट्रको विषयमा मत मिलेका कारण स्वर्गीय नेता खुमबहादुर खड्काले १३ औं महाधिवेशनमा शशांकलाई महामन्त्रीमा सघाएको काँग्रेसमा विश्लेषण हुने गरेको छ । 

शशांकले पनि हिन्दु राष्ट्र पुनस्र्थापनका लागि साथ दिने बताएको विषयले १३ महाधिवेशनमा निकै चर्चा पाएको थियो । 

सभापति शेरबहादुर देउवाबाट ‘उपसभापतिमा ल्याउछु’ भन्ने बाचा पाएका खड्काले पदमा नपुग्दै संसार छोडे । जस कारणले काँग्रेसमा हिन्दु राष्ट्रको विषय सेलाउन पुगेको धेरैको बुझाइ छ । 

तर पनि भित्रभित्रै शशांकको सक्रियता रोकिएको छैन । महासमिति बैठकमा हिन्दु राष्ट्रको विषयले पार्टीभित्र विग्रह आउने संकेत देखेपछि कोइराला ‘मौन’ बसेपनि खड्कासँग बाचा गरेको ‘मिसन’ भने रोकेका छैनन् ।
त्यसैले पनि पूर्वराजा थाइल्याण्ड रहेका बेला कोइरालाबाट पनि भएको भ्रमणलाई शंकाको दृष्टिकोणले हेरिएको काँग्रेसकै एक नेताले बताए । 

शशांकमा प्रकाश प्रभाव
पार्टीभित्र वा कोइराला परिवार (शेखर र सुजाता)मा पनि महामन्त्री कोइरालालाई काँग्रेस विपीका नेता तथा दाजु प्रकाश कोइरालाको इशारामा चल्ने गरेको आरोप लाग्ने गरेको छ ।  

प्रकाश कोइरालाले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउन खुलेरै वकालत गर्दै आएका छन् । यद्यपि शशांकले अहिलेसम्म राजतन्त्रको बारेमा मुख खोलेका छैनन् । पूर्वराजा शाहको प्रत्यक्ष शासनमा मन्त्री बनेपछि प्रकाशलाई काँग्रेसको कारबाही गरेको थियो ।

त्यसपछि काँग्रेसको सक्रिय राजनीतिबाट टाढिएर काँग्रेस विपीमा लागेका प्रकाश अहिले गुमनाम छन् । तर पूर्वराजासँग निकट सम्बन्ध रहेका प्रकाशको सुझाव शशांकले ग्रहण गर्ने गरेको बताइन्छ । यति मात्र होइन शशांकको केही राजावादीसँग पारिवारिक सम्बन्ध पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप