बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

४५ महिनापछि भेटियो चोरिएको मोटरसाइकल (भिडियो)

सोमबार, २३ भदौ २०७६, १५ : ०७
सोमबार, २३ भदौ २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएको १८ वटा मोटरसाइकल भेट्टाएर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले सम्बन्धित मोटरसाइकल धनीलाई विलबुकको आधारमा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

बुझाइएको १८ वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल चोरी भएको ४५ महिनापछि भेटिएको हो । बाँकी १७ वटा मोटरसाइकल २०७५ जेठ २ गतेदेखि २०७४ साउन २३ गतेभित्र हराएको महाशाखाको रेकर्डमा उल्लेख छ ।

४५ महिनाअघि हराएको बा५३प ८८४ नम्बरको सुपर स्पेल्नडर मोटरसाइकल मण्डिखाटारस्थित सडकमा रोकिराखेको अवस्थामा फेला परेको महाशाखाका प्रमुख ढकालले रातोपाटीसँग भने ।

२०७२ मंसिर २५ गते हराएको मोटरसाइकल धनी हुन् नुवाकोटका केशव प्रसाद ढकाल । हाल तारकेश्वर नगरपालिका–६ बस्दै ढकालको बसुन्धारामा रहेको प्रहरी पेट्रोल पम्पको बाहिर राखेको बेला हराएको थियो ।

मोटरसाइकल भेटिएपछि यसो भन्छन् ढकाल ?

मोटरसाइकल हराएपछि प्रहरीलाई खबर गरें । निवेदन दिएँ । अनुसन्धान शाखा टेकुमा पनि गएर निवेदन दिएँ । बीच–बीचमा आएर बुझ्थें । तर, भेटिएको थिएन ।

आइतबार (हिजो) अचानक घरमा बसिरहेको बेला ट्राफिक महाशाखाबाट फोन आयो ‘तपाईंको हराएको मोटरसाइकल भेटियो ।’ एकछिन मेरो वाक्य नै फुटेन । त्यसपछि आज लिन आउनु भनेर भन्नुभयो ।

४५ महिनाअघि हराएको मोटरसाइकल भेट्छु भनेर सोचेको थिइन् । तर, नाकाबन्दीको समयमा हराएको मोटरसाइकल आज पाउँदा खुसी लागेको छ ।

ट्राफिक प्रहरीलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।

कामको सिलसिलामा नाकाबन्दीको बेला बसुन्धार प्रहरी पेट्रोल पम्पको बाहिर राखेको मोटरसाइकल चोरी भएको थियो ।

यता, बाइक हराएको २ महिनामै अर्को नयाँ बाइक किनें । कामको सिलसिलामा बाहिर हिँडिरहनपर्छ । अर्को बाइक किन्दा ऋण खोजेर किने । अब २ वटा बाइक भयो । २ वटै बाइक बेच्दिन । भाइले एउटा चढ्छ म अर्को ।

चोरीमा संलग्न ३ जना पक्राउ

यस्तै महाशाखाको विशेष टोलीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई बुढानिलकण्ठस्थित एक ग्यारेजबाट पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट २ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा नागार्जुन नगरापालिका–७ फस्कु बस्ने २६ वर्षीय प्रदिप खड्गी, सोही नगरपालिका–६ इचाडोल बस्ने २५ वर्षीय रोशन खड्का र चितवन घर भई हाल सितापाइला बस्ने २० वर्षीय अन्जन विक रहेका छन् ।

उनीहरुको साथबाट २ वटा चोरीको मोटरसाइकल बरामद भएको छ । बरामद मोटरसाइकलको वास्तविक नम्बर बा६२प २२८९ (२०० सीसीको एनएस) र बा५०प ५०५५ (एफजेटएस) हो ।

बा६२प २२८९ नम्बरको मोटरसाइकल २०७६ भदौ ९ गते दिउँसो २ः३० बजे ठमेलबाट हराएको हो । बा६२प २२८९ नम्बरको मोटरसाइकलाई उनीहरुले नम्बर परितर्वन गरेर बा५४प ३२०४ राखेर चलाउँदै आएका थिए ।

यस्तै बा५०प ५०५५ नम्बरको मोटरसाइकल पनि जेठ २ गते ठमेलबाटै हराएको थियो । सो मोटरसाइकल चेसिस नम्बरसहितको पाटपुर्जा खोल्दै गरेको अवस्थामा भेटिएको छ ।  

मोटरसाइकलको च्यासिस नम्बरसहितको पाटपुर्जा खोलेको अवस्थामा । 

चोरिएको मोटरसाइकल भेटिएपछि महाशाखामा लिन आउनेहरुको भीड । 

४५ महिनापछि भेटिएको मोटरसाइकलको विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप