बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता

बुधबार, ०१ वैशाख २०७८, ११ : २५
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनबीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । 

एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।  

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिए । 

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।
३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
चार्जिङ स्टेसन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने छ ।

१ नं प्रदेशका झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।
२ नं प्रदेशको पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा  चार्जिङ स्टेसन स्थापना हुनेछन् ।  
बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २,मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिन÷कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।  गण्डकी प्रदेशमा नवलपुर,तनहुँको दमौली,स्याङजामा १÷१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् ।  

लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरू रहने छन् । बाँकेको नेपालगञ्जमा १,दाङको भालुवाङ तथा दाङमा १÷१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् ।
कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १÷१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप