शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
संसद्काे अवराेध खुलाउने प्रयास

माओवादी अवरूद्ध सदन खुलाउन सकारात्मक

बिहीबार, २९ जेठ २०८२, १५ : ४८
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । जेठ १३ गतेदेखि अवरुद्ध सदन खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सकारात्मक देखिएको छ ।

भिजिट भिसा प्रकरणका कारण अवरुद्ध रहेको प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरेसँग अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार गरेको भेटवार्तामा माओवादी अवरुद्ध सदन खुलाउन सकारात्मक देखिएको हो । 

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले सदनको अवरोध खुलाउन माओवादी अध्यक्ष प्रचण्ड सकारात्मक देखिएको बताए ।‘उहाँले पहिला सहमतिको भाषाबारे प्रतिपक्षी दलहरूको बैठकमा छलफल गर्छौँ। त्यसपछि सत्तापक्षसँग बसेर सहमति गर्छौँ भन्नुभएको छ,’ अधिकारीले भने ।

सभामुख घिमिरेले प्रचण्डसँगको भेटमा बजेटमाथिको सैद्धान्तिक छलफलका लागि निर्धारण गरिएको कार्यतालिका घर्किएको, दफावार छलफलबाट सहमति जुटेर सभामा आएका निजामती र नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न अत्यावश्यक रहेको भन्दै गतिरोध अन्त्यका लागि सहमति गर्न आग्रह गरेका थिए । 

जवाफमा प्रचण्डले आफूले त्यो विषय बुझेको र सहमतिका लागि प्रयास गर्ने बताएको अधिकारीले जानकारी दिए । संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए । 

भुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् । 

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेका छन् । सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ । 

गृहमन्त्री अख्तियारको छानबिनको घेरामा नरहेकाले उनले राजीनामा दिन नपर्ने पनि सत्तारुढ दलहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप