आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा

आइतबार, १० साउन २०८३, १७ : ०९
आइतबार, १० साउन २०८३

सारांश

  • ललितपुरको बीएण्डबी अस्पतालमा एक १७ वर्षीया किशोरीको डिम्ब अवैध तरिकाले निकालिएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
  • यस घटनामा बिचौलिया राधिका गोतामेलाई प्रहरीले पक्राउ गरी हाजिर जमानीमा रिहा गरेको छ भने डा. नूतन शर्मा पनि अनुसन्धानको दायरामा आएकी छन् ।
  • किशोरीलाई ३० हजार दिएर डिम्ब निकालिएको र बिरामी भएपछि परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ ।

किशोरीको अवैध तरिकाले डिम्ब निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । साउन १ मा पक्राउ परेकी गोतामेलाई सरकारी वकिल कार्यालयको निर्देशन अनुसार शुक्रवार हाजिर जमानीमा रिहा गरिएको छ । आरोपीलाई रिहा गरे पनि थप अनुसन्धान र प्रमाण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

सो घटनामा वरिष्ठ स्त्रीरोथ तथा टेष्टट्यु बेबी विशेषज्ञ डा. नूतन शर्मा पनि अनुसन्धानको दायरामा आएकी छन् । डा. नूतनको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने भन्दै अदालतसँग दुई पटक अनुमति मागेको थियो । तर, अदालतले अनुमति नदिएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतोमलाई पनि हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएको छ । डिम्ब निकालेको घटनामा डा. नूतनको समेत भूमिका देखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

किशोरीलाई ३० हजार दिएर अण्डा निकालिएको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । राधिकासँग पीडित किशोरीलाई भेट्टाउने व्यक्तिबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । राधिकाले पीडितलाई बीएण्डबी अस्पतालको आइभीएफमा लगेको भेटिएको छ । पीडित किशोरी बिरामी भएपछि डिम्ब निकाल्ने गिरोहले नै उनको उपचार गराएको अनुसन्धानले देखाएको छ ।

२०८२ असोज ३० मा काठमाडौँको होप फर्टिलिटी सेन्टरमा भएको डिम्ब तस्करीको घटनामा तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । त्यतिबेला होप फर्टिलिटीले दुईजना किशोरीको डिम्ब निकालेको घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप