ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
सारांश
- नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षको उपस्थितिमा उद्घाटन हुँदैछ ।
- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको शिलापत्र सुरुङ खन्दा सारिएको र पछि आगजनीमा जलेर नष्ट भएको जनाइएको छ ।
- ओलीको नाम भएको शिलालेख हटाइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार विधिवत उद्घाटन हुँदैछ । सडक विभागका प्रवक्ता ई.शुभराज न्यौपानेका अनुसार सोमबार बिहान साढे १० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत र जाइकाका अध्यक्षको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गरिनेछ।
उक्त कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागका कर्मचारी तथा सरोकारवालाहरूको समेत सहभागिता रहनेछ। नागढुंगा सुरुङमार्गका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन कार्यक्रम सुरुङ मार्गको पूर्वी विन्दुमा हुने जानकारी दिएका छन्।
सामान्यतया कुनै पनि आयोजना निर्माण भएपछि आयोजनाको उद्घाटन र शिलान्यास शिलापत्र सँगै राख्ने चलन छ । तर, उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको शिलापत्र नरहने भएको छ ।
किन हटाइयो शिलापत्र ?
२०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस सुरुङ मार्गको शिलान्यास गरेका थिए। तर, अहिले उक्त शिलालेख हराएको जनाइएको छ ।
नागढुंगा सुरुङमार्गका उपनिर्देशक सञ्जय पन्थीका अनुसार उक्त शिलापत्र सुरुमा सडक विभागमा राखिएको थियो । सुरुङ खन्दै जाँदा शिलालेख भएको स्थानभन्दा केही मुनिबाटै खन्नुपर्ने अवस्था आएपछि तत्कालका लागि त्यसलाई त्यहाँबाट सारिएको उनको भनाइ छ ।
‘त्यतिबेला हामीले त्यस शिलालेखलाई सुरुङमार्गबाट निकालेर बबरमहलस्थित सडक विभाग मातहतको वैदेशिक महाशाखाको कार्यालयमा राखेका थियौँ,’ पन्थीले भने, ‘गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भवनमा नै आगजनी हुँदा उक्त शिलालेख पनि जल्यो। अहिले पनि हामीले खोजिरहेका छौँ तर भेटाएका छैनौँ ।’
हराएको शिलालेखको सट्टा नयाँ राख्ने वा नराख्ने भन्ने विषयमा हालसम्म यस विषयमा आधिकारिक रूपमा केही निर्णय नआएको उनको भनाइ छ ।
‘उद्घाटनमा सामान्यतया शिलान्यासको क्रममा पूजा गरिएको शिला नै राख्ने चलन हो । त्यो नभएपछि अर्को राख्ने कि नराख्ने, राख्ने हो भने फेरि पूजा गर्ने कि नगर्ने भन्ने कुराहरू हुन सक्छन्,’ उनले भने, ‘यो विषयमा अहिलेसम्म केही निर्णय भएको थाहा छैन ।’
ओलीको नाम भएको शिलालेख हटाएपछि चर्को आलोचना
यसैबिच सुरुङ मार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शिलालेख हटाइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । उद्घाटनको पूर्वसन्ध्यामा ओलीको नाम रहेको शिलालेख आयोजनाबाट हटाइएको विषय सार्वजनिक भएपछि नेकपा एमाले, नेकपा लगायत पार्टीका नेता कार्यकर्ताले आलोचना गरेका हुन् ।
नागढुंगा सुरूङमार्ग तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेका थिए । सुरुङ मार्गको उद्घाटन र ओलीको नाम रहेको शिलालेख हटाउने चर्चा सुरु भएसँगै एमाले महासचिव शङ्कर पोखरेलले ‘शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन ’ भनेका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सुरुङ मार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको समेत बताएका छन् ।
‘जननेता मदन भण्डारीको ‘प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन्। भन्ने सत्य बचनलाई वर्तमान सरकारले मनन गर्न सकेको देखिएन’, महासचिव पोखरेलले बालेन सरकारलाई चेतावनी दिँदै भनेका छन्,‘वास्तवमा बालेन नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर जुन हर्कत गरिरहेको छ, यसले उनीहरूलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्नेछ !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण