सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालले पूरा गर्‍यो पहिलो चक्र, पार्टी जहाँको त्यहीँ

मङ्गलबार, ०७ असोज २०७६, १६ : ०५
मङ्गलबार, ०७ असोज २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपाल गठन भएको साढे २ वर्षमा अध्यक्षमण्डलमा रहेका छजना सदस्यको अध्यक्ष बन्ने पहिलो चक्र पूरा भएको छ । 

अब सो पार्टीमा पुनः अर्को चक्र सुरु भएको छ । २०७४ वैशाख ७ गते विभिन्न ६ वटा दल मिलेर राजपा नेपाल गठन भएको थियो । महोत्तरीको बर्दिवासस्थित पवन मिथिला होटलमा २०७५ मङ्सिर ४ गते अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव र शरतसिंह भण्डारीबीच भएको गोप्य बैठकबाट महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाउने निर्णय गरेको थियो । 

पवन मिथिला होटेल अध्यक्षमण्डलका सदस्य भण्डारीको हो । 

त्यो बैठकमा नै महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक बनाउने निर्णय गरेको विज्ञप्ति लेखिएको थियो । काठमाडौँ आएर अध्यक्षमण्डलको बैठक बस्यो । सो बैठकमा एकैपटक चक्रियप्रणालीमार्फत अध्यक्ष फेरिने प्रस्ताव ल्याएर तयार पारिएको निर्णयमा महन्थ ठाकुरलाई हस्ताक्षर गर्न लगाएको थियो । 

एउटा सादा कागजमा कम्प्युटरबाट टाइप गरिएको विज्ञप्तिमा महन्थ ठाकुरको नाम र पार्टीको नाम हातले लेखिएको थियो । विज्ञप्तिमा ‘चक्रीय प्रणालीमा सञ्चालित गर्न सहमत भएका छौँ’ भनी लेखिएकालाई काटेर हातले बहुमतबाट निर्णय गरिएको छ भनी लेखिएको थियो । त्यतिमात्र होइन, राजपा नेपालको लेटरप्याडमाथि त्यो विज्ञप्ति टाँसिएर सार्वजनिक गरिएको थियो । 

त्यो विज्ञप्तिलाई लिएर कतिपयले प्रश्न समेत उठाएका थिए । यसो त अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झा पनि सो निर्णयप्रति सहमत थिएनन् ।

 पार्टीको विधान विपरीत ठाकुरलाई हटाएको कारण पार्टीमा विवाद पनि भएको थियो । 

यद्यपि ठाकुरले नै आफ्ना पक्षका नेताहरूलाई सम्झाएपछि विवाद साम्य भएको थियो । त्यसपछि पार्टी नेतृत्वमा चक्रिप्रणाली सुरु भएको थियो । सुरुमा राजेन्द्र महतो दुई महिनाका लागि संयोजक भए । त्यसपछि महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र अन्त्यमा राजकिशोर यादव संयोजक भए । 

राजकिशोर यादवको दुई महिनाको कार्यकाल असोज ५ गते सकियो भने सोही दिन अध्यक्षमण्डलको बैठक बसेर पुनः महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजक बनाइएको हो । 

 पार्टी गठन भएदेखि २० महिनासम्म ठाकुर लगातार अध्यक्षमण्डलको संयोजक भएर काम गरेका थिए । ठाकुरले पार्टीमा अनियमितता गरेको, पार्टीमा पदाधिकारी नियुक्ति जथाभावी गरेको लगायतका आरोप लगाएर उनलाई हटाइएको थियो । 

ठाकुरले आफ्ना कार्यकालमा गरेका पदाधिकारी नियुक्तिलाई रद्द गर्ने निर्णय पनि बर्दिबासको बैठकले गरेको थियो । तर एउटा पनि रद्द भएको छैन । ठाकुरले जजसलाई नियुक्त गरेका थिए, ती सबै अहिले पनि आआफ्ना पदमा यथावत छन् । महन्थ ठाकुरलाई पुनः अध्यक्षमण्डलको संयोजक बनाएको छ । 

यसको दुई महिनापछि अर्थात मङ्सिर ५ गते पुनः राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक हुनेछन् । त्यसरी नै अरू अरू पनि क्रमशः संयोजक हुनेछन् ।

पार्टीमा लागू गरिएको चक्रीय प्रणालीले पार्टीलाई कुनै फाइदा नगरेको पार्टीका महासचिव गोविन्द चौधरीले बताए ।

 ‘अहिले पनि राजपा नेपालमा छवटा पार्टी रहेको महसुस हुन्छ, आआफ्नो स्वार्थअनुसार काम गरिरहेका हुन्छ, आआफ्नो गुटको हिसाबले काम गरेका हुन्छन्’, उनले भने, ‘छजना अध्यक्षको नियत नै ठीक छैन । उहाँहरूको नियत ठीक रह्यो भने पार्टी ठीक ढङ्गबाट सञ्चालन हुन्थ्यो तर छजनाको मुख छतिर फर्केको छ । त्यसले जति चक्रीय प्रणाली गरे पनि नियत ठीक नभए सङ्गठन चल्दैन ।’ 

चक्रीय प्रणालीले के भयो त ?
राजपा नेपालमा चक्रीय प्रणालीबाट चलाए पनि पार्टीमा कुनै प्रगति हुन सकेन । पार्टी गठन भएपछि प्रदेशको चुनावमा भाग लिनुबाहेक अरू केही गर्न सकेको छैन । सुरुमा संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेका राजपा नेपालले अन्तिममा गएर प्रदेश २ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा भाग लिएको थियो । 

पटक पटक पार्टीको महाधिवेशन गराउने निर्णय गरे पनि हालसम्म महाधिवेशन हुन सकेको छैन । यहाँसम्म राजपा नेपालले अहिलेसम्म पूर्ण विधान बनाउन सकेको छैन । पार्टीले विधान बनाउनका लागि तीन पटक कार्यदल बनायो तर कार्यदलले बनाएर दिएको विधान जस्ताको त्यस्तै थन्किएको छ । छजना अध्यक्ष रहेको कारण एकअर्काको स्वार्थ बाझिएपछि विधानले हालसम्म पूर्णत पाएको छैन ।

त्यति मात्र होइन, पार्टीको मूल राजनीतिक दस्तावेज पनि छैन । पार्टी गठन भएको अढाइ वर्ष बित्यो तर हालसम्म पार्टीका अन्य सङ्गठन समायोजन हुनसकेको छैन । 

जिल्ला समितिहरूमा विवाद अझै कायमै छ । कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको थियो पार्टीले । तर अहिलेसम्म त्यो महाधिवेशन हुने कि नहुने पार्टीले सुनिश्चित गर्न सकेको छैन ।

पार्टीभित्रै एक पक्षले समाजवादी पार्टीसँग एकीकरण गरेर मात्र महाधिवेशन गर्ने भनिरहेका छन् भने अर्को पक्षले पार्टीको महाधिवेशन गरेर मात्र पार्टी एकीकरण गर्ने बताउँदै आएको छ ।

यी र यस्तै विवादका कारण पार्टीको महाधिवेशन पनि अन्योलमा छ । 

चक्रीय प्रणालीले गर्दा पार्टीले प्रगति नगरेको भन्दै महाधिवेशनबाट एकल प्रणालीमा जाने पार्टीले निर्णय गरिसकेको छ तर महाधिवेशन कहिले हुने अझै टुङ्गो लागेको छैन । 
छ जना अध्यक्षका कारण पार्टीमा अन्योल देखिएको पार्टीका महासचिव सीपी सिंहले बताए । 

‘चक्रप्रणालीका कारण पार्टीमा कुनै काम भइरहेको छैन, छजना अध्यक्ष आलोपालो अध्यक्षमण्डलको संयोजक बन्नुभयो । केही दिन तामझाम भयो फेरि उस्ताको उस्तै हुन्छ’, उनले भने, ‘कोही संयोजक भएपछि पार्टीमा केही गर्ने योजना बनाउनु हुन्छ, अगाडि बढ्नु हुन्छ, कामको सुरुवात नहुँदै दुई महिने कार्यकाल सकिन्छ, फेरि अर्को आएपछि उसले शून्यबाट काम सुरु गर्छन् । त्यही भएर यो चक्रीय प्रणालीकै कारणले पार्टीको हालत यस्तो भएको हो ।’

कोही अध्यक्षमण्डलको संयोजक हुँदा उनलाई पूरै तामझामका साथ भित्र्याइएको हुन्छ । माला लगाएर स्वागत गर्नुको साथै लड्डु वितरण पनि गरिएको हुन्छ । तर पार्टीको काम सुस्त हुने गरेको एक नेताको टिप्पणी छ । 
के के गर्यो पार्टीले ?
ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो । 

एकीकरणअघिको कमजोर मानिने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकमा रहेका नेताहरूले अरू दलसँग पार्टी एकीकरण नगर्ने हो भने पार्टी छाडेर जाने धम्की दिए । त्यसपछि अध्यक्ष यादवले ती नेताहरूसँग एक हप्ताको समय माग गरेका थिए । 

लगत्तै उनले शरतसिंह भण्डारी र महेन्द्र राय यादवसँग पार्टी एकीकरणका लागि छलफल सुरु गरेका थिए । तीन पार्टीबीच एकीकरण गर्ने भनी कुरा अगाडि बढ्यो । त्यो कुरा थाहा पाएपछि राजेन्द्र महतो पनि एकीकरणका लागि तयार भए । शरतसिंह, राजकिशोर, महेन्द्रराय र राजेन्द्र महतोबीच छलफल भइरहेको बेला महन्थ ठाकुर पनि जोडिए । 

एकीकरण गर्ने पाँचजना नेताबीच सहमति बनेको थियो । उनीहरूले अनिल झासँग पनि एकीकरणका लागि पहल गरिरहेका थिए तर उनी पार्टी एकीकरण गर्ने पक्षमा थिएनन् । कालीकास्थानमा रहेको अमृतभोगमा एकचरण पाँच दलको एकीकरण घोषणा भइसकेपछि मात्र हृदयश त्रिपाठीले अनिल झालाई ल्याएर एकीकरणमा सहभागी गराएका थिए ।

हुन त राजपा नेपालले बनाएका नेताहरूले तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाललाई पनि एकीकरणमा सहभागी हुन आग्रह गरेका थिए । तर त्यतिबेला तत्कालीन फोरम नेपालका अध्यक्ष यादवले भनेका थिए, तपाईंहरू एकीकरण गर्नुस् म पछि आउँछु । 

समाजवादी पार्टीसँग सम्बन्ध 
२०७४ वैशाख ७ गते एकीकरणको घोषणा भएपछि नेपाली राजनीतिक वृत्तमा हलचल नै आएको थियो । त्यसमा सबभन्दा बढी असर तत्कालीन फोरम नेपाललाई परेको थियो । छवटा दलबीच एकीकरण भएकै दिन तत्कालीन फोरम नेपालको केन्द्रीय समितिको बैठक बसेको थियो । राजपा नेपालको एकीकरणको बारेमा छलफल गर्ने बैठकको एजेन्डा नै थियो । राजपा नेपालको एकीकरणपछि तत्कालीन फोरम नेपालले पनि नयाँ शक्ति पार्टीसँग एकीकरण गर्ने भनी कार्यदल नै बनाएको थियो । अन्ततः गत वैशाखमा एकीकरण गरेर समाजवादी पार्टी बनायो ।

एकीकरण गरी बनेको राजपा नेपालले तत्कालीन फोरम नेपाललाई मधेसी मोर्चाबाट मात्र निस्काशन गरेन, २०७४ वैशाख २३ गते सङ्घीय गठबन्धनको संयोजकबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर महन्थ ठाकुरलाई बनाएको थियो । यद्यपि त्यो गठबन्धन लामो समयसम्म टिक्न सकेको थिएन । 

संविधान संशोधन लगायतका मुद्दाका लागि फोरम नेपालसँग राजपा नेपाल गठन हुनुपूर्व सहकार्य हुन्थ्यो । दुवै दलको बीचमा मोर्चा र गठबन्धन नै बनेको थियो । तर जब राजपा नेपाल गठन भयो  त्यसपछि मधेसी मोर्चा पनि विघटन भयो, गठबन्धन पनि बन्द भयो । चुनावमा सहकार्य गरेका राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण गर्ने चर्चा चले पनि हालसम्म कुनै कुराको टुङ्गो लागेको छैन । 

अरू प्रदेशमा भएको चुनावमा भाग नलिएको राजपा नेपालले प्रदेश २ को स्थानीय चुनावमा भाग लिएपछि पश्चिम मधेसका नेताहरू असन्तुष्ट भए । असन्तुष्टि यतिसम्म अगाडि बढ्यो कि राजपा नेपाल बनाउनमा अहम भूमिका खेलेका हृदयश त्रिपाठी लगायतका नेताहरूले राजपा छाडे । 

एउटा स्वतन्त्र समूह बनाएर तत्कालीन एमालेको चुनाव चिन्हमा प्रतिनिधिसभाको चुनाव लडेका त्रिपाठी अहिले सांसद छन् । 

यता स्थानीय तहको चुनावमा भाग लिएको राजपा नेपालले प्रदेश र प्रतिनिधिसभा चुनावमा भाग नलिने अडान पुनः लियो । जबसम्म संविधान संशोधन हुँदैन तबसम्म चुनावमा भाग नलिने भन्दै आन्दोलनको घोषणा पनि गरेको थियो । अन्ततः आफ्नै अडान फेर्दै राजपा २ नम्बर प्रदेशको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सहभागी भयो । 

सो क्रममा पनि राजपा नेपालको निकै आलोचना भयो । प्रदेशमा २५ र प्रतिनिधिसभामा १७ सिट ल्याउन सफल राजपा नेपालले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन पनि गरेको थियो । मधेसको माग तथा संविधान संशोधन लगायतका विषयमा ओली सरकारसँग मौखिक सम्झौता गरी राजपाले सरकारलाई समर्थन दिएको थियो ।

तर एक वर्ष बित्दा पनि सरकारले प्रतिबद्धता अनुसार कुनै माग पूरा नगरेको भन्दै अन्त्यमा राजपा नेपालले २०७५ को अन्तिममा सरकारबाट समर्थन फिर्ता लियो । उता प्रदेश २ मा फोरम नेपालसँग सरकार पनि निर्माण गरेको छ । राज्यमन्त्रीसहित छजना मन्त्री राजपा नेपालका मन्त्री रहेका छन् । राजपा नेपालले रेशम चौधरीका कारण सरकारबाट समर्थन फिर्ता लिएको हो । कैलाली टीकापुर घटनाका मुख्य दोषी मानिएका रेशम चौधरीले कैलालीबट प्रतिनिधिसभाका चुनाव पनि जितेका थिए । अर्धभूमिगत अवस्थामा उनले चुनाव जिते तर उनलाई न जितको प्रमाणपत्र दियो र सरकारले शपथ नै खुवायो ।

रेशम चौधरीको रिहाइ र शपथग्रहण गराउनुपर्ने भन्दै राजपा नेपालले सरकारलाई पटक पटक दबाब दिँदै आएको छ । दबाबकै कारण सरकारले रेशम चौधरीलाई शपथग्रहण गरायो तर पुनः थुनामा राख्यो । थुनामा रहकै बेला जिल्ला अदालत कैलालीले जन्मकैदको फैसाला सुनाएपछि राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएको हो । 

पार्टीको महाधिवेशन
सरकारबाट समर्थन फिर्ता लिए पनि पार्टीको गतिविधि ठीकसँग अगाडि बढ्न सकेन । यहाँसम्म कि पार्टी गठन भएपछि एक वर्षमा महाधिवेशन गराउने कुरा विधानमा उल्लेख थियो । तर एक वर्षमा महाधिवेशन गराउन नसकेपछि दुई वर्षभित्रमा महाधिवेशन गराउने भनी पार्टीको विधान पनि संशोधन गरियो । 

जसअनुसार २०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने भनी मिति पनि तोकियो तर पार्टीभित्रको आपसी खिचातानी र मनमुटावका कारण तोकिएको मितिमा महाधिवेशन गराउन सकेन । अर्को बैठक बसेर कात्तिक २९, ३० र ३१ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर समाजवादी पार्टीसँगको एकीकरणका कारण महाधिवेशन पनि विवादमा परेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप