मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेकपाका नेताहरुले चिनियाँ नेताहरुको कुरा गायत्री मन्त्र जसरी सुनेः नेता केसी

बिहीबार, ०९ असोज २०७६, १७ : ३३
बिहीबार, ०९ असोज २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताउँदै गम्भीर आपत्ति जनाएका छन् । 

बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता केसीले प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरुले चिनियाँ नेताहरुबाट गायत्री मन्त्र सुनेको ढंगले कुरा सुनेको टिप्पणी गरे । 

साक्षात्कारमा बोल्दै उनले पार्टी–पार्टीबीचमा भाइचारा सम्बन्ध राख्नु स्वभाविक भएको सुनाए । ‘पार्टी–पार्टीबीच भाइचारा सम्बन्ध स्थापित हुनुलाई हामीले साधारण रुपमै लिएका छौं’, उनले अगाडि थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली कांग्रेसको पनि भाइचारा सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई जहिलेपनि उच्चतम रुपबाट सम्मान गर्छौं । तर, कुरा अहिले के आईरहेको छ भने सी जिनपिङ विचाराधाराको प्रवेश जसरी नेपालमा भएको छ, त्यो प्रवेश स्वयममा आश्चर्यजनक रुपमबाट भएको छ । ६ बुँदे सम्झौता जुन भयो । त्यो पार्टी र पार्टीको बीचमा भन्दापनि एउटा सरकार र अर्को सरकारबीच भएको सम्झौताको रुपमा त्यहाँ प्रधानमन्त्री उभिनुभएको छ । प्रधानमन्त्री नेकपाको मात्रै अधयक्ष होईन । मेरो देशको प्रधानमन्त्री, मेरोपनि प्रधानमन्त्री हो । त्यो हस्ताक्षर चीन र नेपालबचिको हस्ताक्षरजस्तो देखियो ।’

उनले उक्त प्रशिक्षण कार्यक्रममा नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत नभएकोमा पनि आपत्ति जनाए । उनले भने,‘त्यहाँ नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत भएर हामी कम्युनिष्ट हौं । हाम्रो कम्युनिष्ट व्यवस्था र पद्धती बहुदलीय प्रतिष्पर्धात्मक पद्धतीमा छ भनेर भनेको भए, त्यो बहुदलीय पद्धती र सी विचाराधारा कहाँसम्म मेल खान्छ ? त्यो बाटो खुल्ने प्रयत्नभन्दापनि कार्यपत्र उनीहरुको प्रस्तुत भयो । हाम्रा साथीहरु सुनेर बस्नुभयो । त्यसको अर्थ अब सी जिनपिङ विचारधाराको एकदलीय पद्धती कम्युनिष्टसँग हाम्रा कम्युनिष्ट पार्टी जान लाग्या हुन त ? यो अत्यन्त गम्भीर प्रश्नको रुपमा छ । किनभने एकातिर लोकतन्त्रको आवरणमा नेकपाले अहिले सम्पूर्ण सत्ता केन्द्रिकृत गरेको छ र प्रशिक्षणमा उहाँहरुबाट सुन्नेमात्रै काम भयो । यसलाई मैले अत्यन्तै गम्भिर रुपमा लिएको छु ।’

उनले चीनले अहिलेसम्म ‘क्वाईट–डिप्लोमेसी’ गर्दै आएको सुनाउँदै भने,‘अब ओपन डिप्लोमेसीमात्रै होईन, उसको सि विचारधाराको प्रचार थलोको साउथ एशियामै प्रारम्भको रुपमा चाहीँ चीनले नेपाललाई प्रयोग गरेको छ । हामी सि विचाराधारा होईन, विकास र कुटनीतिमा साझेदारी चाहन्छौं । त्यहाँको आर्थिक विकास र प्रविधको नमूनाहरुलाई नेपाल भित्र्याउन चाहन्छौं । तर, विचारधारा होईन।  हामी एकदलीय कम्युनिष्ट शासन वा सर्वसत्तावादी विचारसँग कहिले सहमत भएनौं ।’

नेपालमा नेकपाले शासन÷सत्ता पाएको बहुदलीय प्रतिष्पर्धात्मक कम्युनिष्ट भएर पाएको केसीले सुनाए । उनले भने,‘त्यो कुरा उनीहरुले सम्झिनुपर्ने आवश्यकता छ । तर, केही नेकपाका युवा नेताले यो बिआरईसँग सम्बन्धित भनेर टिप्पणी गरेको पनि मैले सुनें । बिआरई भौतिक पूर्वाधार र विकाससँगमात्रै सम्बन्धित्  । यो विचारसँग सम्बन्धित होईन् । यसमा सि जिनपिङ विचार जोड्न मिल्दैन ।’ 

चिनियाँ राष्ट्रपति सीको १४ वटा बुँदे सुत्र चीनको लागि यथार्थ भएपनि ती सूत्रहरु आफूहरुले सापटी लिन नचाहेको केसीको स्पष्ट भनाई छ । 

अर्को प्रसंगमा नेता केसीले कांग्रेसले भर्खरै दोस्रो चरणको जागरण अभियान सफलतापूर्वक सम्पन्न गरेको सुनाए । उनले जागरण अभियानको मुख्य उद्देश्य भनेको नै आन्तरिक सुसुप्ततालाई चेतनातर्फ डोर्याउनु रहेको सुनाए । पार्टीभित्र देखिएका कमीकमजोरी, त्रुटीहरु चेतनशील मार्गमा अघि बढाउने पनि जागरणको उद्देश्य रहेको उनको भनाई थियो । 

उनले नेकपाको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेपनि सोचेजस्तो स्थायित्व प्राप्त नभएको समेत टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप