राष्ट्रपति सीलाई विमानस्थलमा यसरी गरियो स्वागत (फोटोफिचर/भिडियो)
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।भारतको चेन्नाइबाट शनिबार दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए ।
नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे।

उनीहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए । त्यसपछि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो । त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् ।
विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै विभिन्न जातजाति, समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको होटल सोल्टीतर्फ लागेका थिए ।

त्यस क्रममा राष्ट्रपति सीलाई होटल सोल्टीसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए ।
राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । राष्ट्रपति सीले होटल सोल्टीमा नै समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट्नुहुने छ । त्यसैगरी अन्य भेटघाटहरु पनि होटल सोल्टीमा नै तय गरिएको छ ।




















तस्विर : सुवास श्रेष्ठ/रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण