मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा दुग्ध उत्पादकको आधारमा किसानलाई अनुदान

शुक्रबार, ०८ कात्तिक २०७६, १३ : ४४
शुक्रबार, ०८ कात्तिक २०७६

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ ।

अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । नगरपालिकाले चालू आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको छ । नगरपालिकाले दुग्ध उत्पादक सहकारी मार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दुध सहकारीमार्फत् बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जागेश्वरी चौधरीले बताइन् ।

अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ । तिलोत्तमामा हाल १९ वटा दुग्ध उत्पादक सहकारीहरु छन् । सहकारीको पछिल्लो आर्थिक वर्षको अडिट रिपोर्टको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिए ।

आज आयोजित एक कार्यक्रमबीच नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को दुध संकलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको छ । विभिन्न १४ वटा सहकारीले अनुदान रकम प्राप्त गरेका छन् । बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा तिलोत्तमाका सहकारीले कुल ३८ लाख ८५ हजार लिटर दुध संकलन गरेका थिए । तिलोत्तमामा वार्षिक ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ । नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाखभन्दा बढी लिटर दुध संकलन गर्दै आएको छ ।

कसरी पाउने अनुदान ?

तिलोत्तमामा  सहकारीमार्फत् तीन हजार बढी किसानले दुध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ । सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाई विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ ।

यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले गरिब किसानलाई समेत पुग्नेगरी नगरपालिकाले गरेको अनुदान व्यवस्था प्रशंसनीय रहेको  बताए । सबै किसानको पहुँच पुग्नेगरी अनुदान वितरण गरेर नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ ।

नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि चलाइने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप