फिल्म खेलाइदिने प्रलोभनमा अपहरण, फिरौती लिन जाँदा गोली !

पर्सा । प्रहरीले काभ्रेको बनेपाबाट अपहरित एक बालकलाई सकुशल उद्धार गरेको छ भने अपहरणकारीलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहरणकारीले अपहृत बालकका पितासँग १२ लाख रुपैयाँ फिरौती रकम लिने क्रममा प्रहरीले कारवाही गरेको हो । प्रहरीले फिरौती रकम लिन आएका अपहरणकारीको घुँडाभन्दा मुनि गोली हानेको छ । घाइते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
फिल्म खेलाइदिने प्रलोभनमा अपहरण
पर्सा जिल्लाकै वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया घर भई हाल बनेपा बस्दै आएका अम्जद खानका १४ वर्षीय छोरा अपहरणमा परेका हुन् ।
उनलाई चिनेजानेकै मानिसले ‘फिल्म खेलाइदिने’ भन्दै प्रलोभनमा पारेर पर्सा पु¥याएका थिए । अपहरणकारीले उनलाई भारतको सीमावर्ती क्षेत्र रक्सौल पु¥याएपछि फोनमार्फत फिरौती रकम मागेका थिए ।
फिरौती लेनदेनमा विवाद
पीडित परिवारले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी खोजतलासमा जुटेको थियो । सोही क्रममा फिरौती रकम लेनदेनको समयमा प्रहरीले टाढैबाट निगरानी गर्दै आएको थियो ।
प्रहरीका अनुसार फिरौती रकम लेनदेनका क्रममा दुई पक्षबीच केहीबेर विवाद भएको थियो । बालकका पिताले ‘पहिला छोरा देखाऊ’ भन्दै रकम दिन आनाकानी गरेपछि अपहरणकारीले पेस्तोल देखाएर रकम लिइ भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर घाइते भएका अपहरणकारीकै बयानका आधारमा प्रहरीले बालकलाई लुकाएर राखेको स्थान पत्ता लगाएको थियो । प्रहरी सो स्थानमा पुग्दा बालकलाई छाडेर दुई जना भागेको बताइएको छ ।