आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

समलिङ्गीहरुको समस्या सुनेर सांसद चकित, समितिमा कुरा उठाउने

बिहीबार, २१ कात्तिक २०७६, १६ : ४१
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं–यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुले आफु समलिङ्गी भएकै कारण सानै उमेरमा घरबाट निकालीएको खुलासा गरेका छन् । 

मितिनी नेपालले बिहीबार आयोजना गरेको एक कार्यक्रममा यौनिक अल्पसङ्ख्यकले यस्तो खुलासा गरेका हुन् । 

राज्य व्यवस्था तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिका सांसदहरुसँगको अन्तर्क्रियामा आफ्नो पिडा वर्णन गदै महिला समलिङ्गी अपेक्षा दाहालले आफ्नो खाने खेल्ने (१६ वर्षको) सानो उमेरमानै यौनिकताको कारण घर छोड्नु परेको बताइन् ।

दाहालले आफ्नो अनुभव बताउँदै गर्दा फरक यौनिकताको दोषी आफू नभएको र जन्मजात रहने प्राकृतिक कुरालाई परिवार अनि समाजले स्विकार गर्न नसक्दा घर छोडेर एक्लै सङ्घर्ष गरिरहेको बताइन् ।

उनी त एक उदाहरण मात्र थिइन । उनी जस्तै सयौं समलिङ्गी जोडीहरु परिवारको मायाबाट बञ्चित हुँदै आइरहेका छन् । 

कार्यक्रममा सहभागीहरुले समाजका सदस्यहरुले आफुहरुलाई फरक प्रवृतिको ठान्ने गरेकोमा दुखेसो प्रकट गरेका थिए । सो क्रममा यौनिक अल्पसंख्यकहरुको पहिचान र अधिकार रक्षाको पूर्ण रुपमा उपलब्धी हासिल नभएपनि धेरै मात्रामा महत्वपूर्ण उपलब्धी हासिल भएको विधायन र राज्य व्यवस्थाका सांसदहरुले बताएका छन् । 

उनीहरुले यौनिक अल्पसंख्यकको विषय संविधानमै उल्लेख भएका कारण थप रक्षाका लागि संघर्ष भइनै रहेको र अझै गर्नुपर्ने र आफुहरुले सहयोग गर्ने बताए । 

राज्य व्यवस्था तथा सुशासन समितिका सांसद तिर्था गौतमले यौनिक तथा लैङिगक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु प्राकृतिक भएको र समाजले अप्राकृतिक ठान्न नमिल्ने तर्क गरिन् ।

त्यसैगरी, कार्यशालामा सांसद ठगेन्द्र प्रकाश पुरीले यौनिक अल्पसंख्यकको विषय यति गम्भिर भएको र आजसम्म आफू अनभिज्ञ रहेको बताए । यो विषय आफूलाई जानकारी नभए पनि आफ्नो समितिमा यस बारेमा छलफल गर्ने बताए ।

यो समुदायका मानिसहरुको अधिकार रक्षाको लागी गर्नुपर्ने पहल गर्ने वाचा उनको थियोे। उनले संविधानको धारा १२, १८ र ४२ मा लेखिएका कुराहरु आजको दिनसम्म लागु नहुनु दुखद भएको बताए ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले आफूहरुले राज्यका हरेक तहलाई समय समयमा घच्घच्याइरहे पनि आफ्नो अवाज नसुनेकोमा दुख्ख व्यक्त गरे ।

कार्यशालामा यौनिक अल्पसंख्यकहरुले आफूहरुले भोगिरहेका अनेकन समस्या सुनाएका थिए । उनीहरुले नागरिकता, सम्पत्ती, आफ्नो नामबाट पार्टनरको थर लगायतको विषयमा सांसदहरुको ध्यानाकर्षण गराएका थिए । 

सांसदहरु मिना बुढा, युटल तामाङ, सिंग बहादुर विश्वकर्मा तिर्था गौतम, हरिचरण शिवाकोटी, ठगेन्द्र प्रकाश पुरी, उदय शर्मा पौडेल, मिना पाण्डे र अम्रेश कुमार सिंह लगायतका सांसदहरुको उपस्थिती रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप