सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीले गर्ला सरकार छाड्ने निर्णय ?

शनिबार, ०७ मङ्सिर २०७६, १३ : १५
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौं । सरकारले गरेको मन्त्री हेरफेरको विषयमा छलफल गर्न समाजवादी पार्टीले शनिबार पदाधिकारी बैठक बोलाएको छ । 

बालकुमारीस्थित पार्टी कार्यालयमा ४ वजेका लागि बोलाइएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै गरेको मन्त्री हेरफेरको विषयमा छलफल हुने बताइएको छ । 

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सरकारले गरेको मन्त्री हेरफेरका साथै पार्टीको अन्य एजेण्डामा छलफलका लागि बैठक बोलाइएको बताए । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै छलफल नै गरिकन आफ्नो दलले नेतृत्व गरेको मन्त्रालय हेरफेर गर्नुको साथै राज्यमन्त्रीलाई पदच्यूत गरेको विषयलाई पार्टीका नेताहरुले आलोचना गरेका छन् । 

यो घटनाले गर्दा सरकारबाट बाहिरिनुपर्ने दवाव पार्टीमा परिरहेको छ । आज बस्ने बैठकले सरकारमा बस्ने नबस्ने विषयमा छलफल हुनेछ । यद्यपी पार्टीका कतिपय नेताले सरकार नछाड्ने बरु सरकारमा रहेर सविधान संशोधन लगायतका माग पूरा गराउने भन्दै आएको छ । 

यो मन्त्रालय हेरफेर पनि पार्टीका अध्यक्ष उपेन्द्र यादवकै सल्लाहमा भएको कतिपय नेताहरुले भन्दै आएका छन् । अध्यक्ष उपेन्द्र यादवले शुरुदेखि नै कानुन मन्त्रालय माग गरेको र सोही अनुसार अहिले स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सारेको बताइएको छ । 

समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.शिवजी यादवले पार्टी तत्काल सरकारबाट नहट्ने बताए । उनले संविधान संशोधन लगायत कानुनका अन्य काम गर्न कानुन मन्त्रालयबाट सजिलो हुने भनेर नै त्यो मन्त्रालय लिएको बताए । 

यद्यपी सो पार्टीमा डा.बाबुराम भट्टराई पक्षका नेताहरु सरकार छाड्नुपर्ने दवाव दिइरहेका छन् । उपप्रमुख पाण्डेले सरकारमा बसेर संविधान संशोधन गराउन नसकिने भन्दै सडक संघर्षबाट दवाव दिएर संशोधन लगायतका काम गराउन सकिने बताए । 

स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा पठाइएको छ भने स्वास्थ्य मन्त्रालयमा सो दलबाट रहेका राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाइएको छ ।  त्यस्तै समाजवादी पार्टीले सम्हाल्दै आएको शहरी मन्त्रालयमा नेकपाको तर्फबाट राज्यमन्त्री पठाइएको छ।  

मन्त्री हेरफेर हुँदा तत्कालीन स्वास्थ्य मन्त्री यादव मन्त्रालयको नेतृत्व गर्दै दिल्लीको एउटा कार्यक्रममा सहभागी थिए । उनी शुक्रवार राती नेपाल फर्केका छन् । उनी फर्केपछि यो बैठक राखिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप