‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’सम्बन्धी प्रशिक्षण सुरु

काठमाडौँ । नेपालका विभिन्न सरकारी निकायका २१ अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम आजबाट भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सञ्चालन भइरहेको छ ।
भारत सरकारको पूर्ण सहयोग रहेको उक्त प्रशिक्षण ‘भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग’ अन्तर्गत सञ्चालन गरिएको जनाइएको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ ।
विभिन्न कार्यक्रमअन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने जनाइएको छ ।
यस कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
यसअघि नेपाली अधिकारीका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।