शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेम, विवाह अनि बलात्कार : त्यसपछि जिउँदै जलाएर मार्नेसम्मको कहानी

सोमबार, २३ मङ्सिर २०७६, १२ : ०६
सोमबार, २३ मङ्सिर २०७६

भारतको उन्नावमा सामूहिक बलात्कारबाट पीडित एक युवतीको शुक्रबार अबेर राती दिल्लीको सफदरजंग अस्पतालमा मृत्यु भएको छ ।

आगोमा नराम्रोसँग जलेकी युवतीलाई बचाउने कोसिसमा उन्नावबाट लखनउ र त्यसपछि दिल्लीको सफदरजंग अस्पतालमा पुर्‍याइयो तर युवतीको दुई दिनभित्रै मृत्यु भयो ।

युवतीको घर परिवार पहिलादेखि नै शोकाकुल थिए, उनको मृत्युपछि पूरा गाउँ नै शोकमग्न भएको छ । अर्कोतर्फ गाउँमा बस्ने अभियुक्तका परिवार उनीलाई निर्दोष बताइरहेका छन् । गाउँमा ठूलो संख्यामा पुलिस बल तैनाथ छन् ।

यसैबीच, शुक्रबार घटनामा संलग्न सबै पाँच अभियुक्तलाई सिजेएम अदालतमा पेश गरियो जहाँबाट उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

पीडित युवतीले उपचारको क्रममा उन्नावमा नै आफ्नो बयान दर्ता गराएकी थिइन् जसको आधारमा पुलिसले केही घण्टाभित्र पाँच व्यक्तिलाई पक्राउ गरेको थियो ।

पीडितको घरको हालः

उन्नाव शहरभन्दा करिब ५० किलोमिटर टाढा बिहार थानाअन्तर्गत पर्छ पीडितको गाउँ । यो गाउँभित्र प्रवेश गरेपछि केही टाढा पीडित युवतीको माटोले बनेको र परालले छाएको कच्ची घर छ ।

युवतीका वृद्ध पिता घरबाहिर चुपचाप उभिएका छन् । उनले सधैं छोरीलाई स्टेशनसम्म आफैं छोड्न जाने गरेको बताए तर बिहिबार छोरी किन एक्लै गइन् भनेर उनलाई यो कुराको सबैभन्दा ठूलो अफसोस छ ।

यद्यपि, घरभित्र भएकी युवतीकी भाउजुका अनुसार अदालतको कामले वा आफ्नै वा कसैको काम पर्दा उनी एक्लै वा आफ्ना भाइ वा बहिनीसँग बाहिर जाने गर्थिन् । पीडित युवती पाँच दिदी बहिनी र दुई दाजुभाइमध्ये सबैभन्दा कान्छी थिइन् ।

पहिला प्रेम विवाह र त्यसपछि सामुहिक बलात्कारको रिपोर्टः

युवतीको छिमेककै एक युवकसँग चिनजान थियो । यी दुईले प्रेम विवाह पनि गरेका थिए तर पछि सम्बन्ध खराब भयो ।

युवतीले यसै वर्ष मार्चमा ती युवक र उनका एक साथीविरुद्ध सामूहिक बलात्कारको रिपोर्ट दर्ता गरेकी थिइन् जसमध्ये एक मुख्य अभियुक्त जेलमा थिए र केही दिन अघि मात्रै जमानतमा छुटेका थिए ।

युवतीकी भाउजुलाई उनीहरुले कहिले विवाह गरेको भन्ने जानकारी नभएको बताइन् । उनी भन्छिन्, ‘हामीलाई त विवाह बारे त्यतिबेला मात्रै थाहा भयो जब युवक र उनका परिवारले यहाँ आएर झगडा गरे, हामीमाथि कुटपिट गरे । त्यतिबेला उनले हामीलाई उनको अदालतमा विवाह भइसकेको तर अब उनी त्यसलाई मान्न नचाहेको बताएकी थिइन् ।’

अभियुक्तको घरको माहौलः

युवतीको घरबाट करिब आधा किलोमिटर टाढा मुख्य  र अन्य अभियुक्तको घर छ ।

एक मन्दिर बाहिर थुप्रै महिला जुटेका थिए र नराम्रोसँग रोइरहेका थिए । यीमध्ये धेरै महिलाको पक्राउ परेका अभियुक्तसँग कुनै न कुनै सम्बन्ध छ । ती सबै महिलाले घटनामा उनीहरुलाई फसाइएको आरोप लगाएका छन् ।

मुख्य अभियुक्तकी आमाका अनुसार उनका छोराले न त विवाह गरेका थिए न नै यो घटनामा संलग्न थिए । मुख्य अभियुक्तले युवतीसँग रायबरेलीमा एक महिना बिताएको भन्ने पीडित परिवार र पुलिसको दाबीलाई पनि उनकी आमाले अस्विकार गरेकी छिन् ।

यो घटनामा अर्की एक महिलाका श्रीमान् र उनका छोरालाई पनि पक्राउ गरिएको छ । उनी भन्छिन्, ‘बिहानै पुलिस आए र मेरा छोरा र श्रीमानलाई उठाएर लिएर गए । अन्य केटाहरुलाई पनि लिएर गए । म सोध्छु कि यति ठूलो घटना गराएपछि के कोही घरमा आएर आरामसँग सुत्न सक्छ ? हाम्रा बच्चाहरुलाई केही नबुझिकनै अपराधी बनाइएको छ ।’

यसै वर्ष मार्चमा पीडित युवतीले आफूमाथि भएको सामूहिक बलात्कारको जुन एफआइआर दर्ता गराएकी थिइन् त्यसमा मुख्य अभियुक्तका साथै यी महिलाको छोरालाई पनि अभियुक्त बनाइएको थियो ।

यद्यपि, यो घटनामा मुख्य अभियुक्तलाई मात्रै पक्राउ गरिएको थियो । सबै अभियुक्तका परिवारले वास्तविकता सार्वजनिक गराउन पूरा घटना सीबीआईले अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

पीडित र अभियुक्तको परिवार बीच राम्रो सम्बन्ध थियोः

युवतीलाई आगो लगाइएको घटना बिहिबार बिहान करिब चार बजेको हो । पीडित युवती रायबरेली जाने रेल भेट्टाउने योजनामा थिइन् जुन बिहान पाँच बजे स्टेशनमा आउँछ ।

पीडित युवतीको घरबाट स्टेशन करिब दुई किलोमिटर टाढा छ र दिउँसो पनि यो बाटोमा खासै मानिसहरु देखिँदैनन् । गाउँका एक स्थानीय राम किशोरका अनुसार यसै कारण जब युवतीलाई जलाइयो तब निकै टाढासम्म दौडदा पनि उनले मद्दत पाउन सकिनन् ।

स्थानीयलाई विश्वास गर्ने हो भने दुई परिवारमा दुई वर्षअघि सम्म निकै राम्रो सम्बन्ध थियो । युवतीका पिताले आफैंले पनि त्यो परिवारले  उनीहरुको निकै मद्दत गर्ने गरेको र अत्यधिक गरिब भएका कारण सरकारी योजनाको लाभ पनि यसै कारण उनीहरुले सजिलै पाउने गरेको स्विकारे ।

तर जब ती युवक र युवतीबीचको सम्बन्ध चिसियो तब दुई परिवारबीच पनि ‘दुश्मनी’ पैदा भयो ।

पीडित युवतीका पिता भन्छन्, ‘हामीलाई थुप्रै पटक धम्काइयो । मेरै घरमा आएर उनीहरुले ममाथि कुटपिट गरे र गाउँ छोड्न धम्की दिए । मैले कतिपटक पुलिसमा उजुरी पनि दिँ तर हाम्रो आवाज सुनिएन ।’

बाँकी छन् थुप्रै प्रश्नः

त्यहाँका स्थानीयले घटनाबारे विभिन्न प्रश्न उठाइरहेका छन् । पक्राउ परेका कुनै पनि अभियुक्तमाथि पुलिसमा कुनै पनि मुद्दा दर्ता भएका छैनन् ।

थानाका पुलिसले यो कुरा पुष्टि गरेका छन् । यतिमात्र होइन, घटनालगत्तै जब अभियुक्तको घरमा पुलिसले अनुसन्धान गर्यो तब लगभग सबै अभियुक्त आफ्नै घरमा भेटिए ।

गाउँका एक वृद्ध सीताराम भन्छन्, ‘यी केटाहरुलाई हामीले सानैदेखि चिन्छौं । गाउँमा उनीहरुले कहिले पनि नराम्रो गरेका छैनन्, कसैले पनि उनीहरुबारे ऊजुरी दिएका छैनन् । उनीहरुले यस्तो जघन्य अपराध कसरी गरे भनेर मैले बुझ्न सकेको छैन । हाम्रो गाउँमा यस्तो घटना अहिलेसम्म पनि हुन सकेको छैन न नै हाम्रा गाउँका कुनै व्यक्तिले मानिसलाई जलाउने जस्तो कुनै ठूलो अपराध गरेका नै छन् ।’

उन्नावमा यो घटनालाई सुरुदेखि नै हेरिरहेका थुप्रै पुलिस अधिकारी पनि सीतारामको आशंकासँग सहमती जताउँछन् तर यसबारे उनीहरु आधिकारिक रुपमा केही पनि भन्नबाट बचिरहेका छन् । गाउँमा केही मानिसहरुलाई पनि यो कुरामा आपत्ति छ कि अन्य व्यक्तिबाहेक मिडिया पनि पीडित पक्षप्रति सहानुभूती देखाइरहेका छन् ।

यस्तै पुलिसका अनुसार घटनाको हरेक पाटोबाट अनुसन्धान भइरहेको छ । आइजी कानून व्यवस्था प्रविण कुमार भन्छन्, ‘पीडितको बयानको आधारमा सबै पाँच अभियुक्तलाई पक्राउ गरिएको छ । सबै साक्षी जम्मा गरिएको छ । वास्तविक दोषी को हो भनेर चाँडोभन्दा चाँडो पत्ता लागोस् भन्ने नै हाम्रो प्राथमिकता छ । दोषीलाई कडाभन्दा कडा सजाय दिलाउनु पपनि हाम्रो प्राथमिकता हो ।’

समीरात्मज मिश्र बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप