शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोकै पालामा किन हुन्छ यस्तो 'चमत्कार' ?

शुक्रबार, ०४ पुस २०७६, १३ : ५३
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । २०७१ पुस २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झगडा गरेर निस्किएका राजेन्द्र महतो मधेश आन्दोलनको घोषणा गर्दै झोलगुन्टी लिएर मधेश झरेका थिए । अधिकार प्राप्त नभएसम्म काठमाडौं नफर्किने भन्दै आफ्नो पार्टी कार्यालय समेत सारेका महतोले सबैभन्दा बढी ओलीको विरोध गरिरहेका थिए ।

मानौ, महतोले राज्य विरुद्धको आन्दोलन होइन, ओली विरुद्धको आन्दोलन शुरु गरेको भान हुन्थ्यो । आन्दोलन मधेश भर्सेज ओली भएको थियो । तर आन्दोलन चर्किरहेकै बेला प्रधामन्त्री भइसकेका ओलीले राजेन्द्र महतोलाई फोन गरेपछि सौर्य एयरलाइन्सबाट काठमाडौं आएर बालुवाटार गएर सुटुक्क भेटेका थिए । पत्रकारको नजरमा परेपछि उनले आफू प्लेन चढेर ओलीलाई भेट्न आएको होइन, वीरगञ्ज जानका लागि आएको प्रतिकृया दिएका थिए । 

ओलीको विरुद्धमा आगो ओक्लिरहेका महतोले एकाएक आन्दोलन छाडेर अ‍ोलीलाई भेट्न काठमाडौं आएका थिए । त्यतिबेलादेखि नै ओली र महतोबीच साँठगाँठ रहेको चर्चा तत्कालीन मधेशी मोर्चामा चलेको थियो । बालुवाटारको त्यो भेटल दुईजनाको बीचमा यस्तो दोस्ती भयो कि ओलीले आफ्ना गठबन्धनका उम्मेदवारलाई हराएर जनकपुरमा महतोलाई सांसदमा जिताएका थिए ।

त्यसपछि ओली र महतो बीचको दोस्ती झन झन झाँगिदै गए । र, महतो एकपछि अर्को चमत्कार गर्दै गए । बालुवाटार स्रोत भन्छ, राजपा नेपाल र प्रधानमन्त्री ओलीबीच जति दुरी बढे पनि ओली र महतोको दुरी कहिल्यै कम भएन । उनी विभिन्न बाटोबाट ओलीलाई भेट्दै आइरहेका थिए ।

यहाँसम्म कि दुईजनामा दोस्ती भएपछि एकअर्काको गुनासो गर्न पनि छाडेका थिए । र, जबजब महतो राजपा नेपालमा अध्यक्षमण्डलको संयोजक भए, प्रधानमन्त्री ओलीको आडमा कुनै न कुनै चमत्कार गरि नै रहे ।

पहिलो चमत्कार

चक्रिय प्रणालीअनुसार २०७५ मंसिर ४ गते राजपा नेपाल अध्यक्षमण्डलको संयोजक भएपछि थुनामा रहेका रेशम चौधरीलाई सिंदरवार छिराएर सांसद पदमा शपथग्रहण गराउन सफल भएका थिए । संयोजक भएको एक महिनापछि थुनामा रहेका चौधरीलाई सपथ ग्रहण गराउन सफल भएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकारको आरोपमा थुनामा रहेका रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको हैसियतमा २०७५ पुस १९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यतिबेला पनि राजेन्द्र महतोको वाहवाही भएको थियो । 

२२ महिनासम्म संयोजक रहेका महन्थ ठाकुरले पटक–पटक प्रयास गर्दा चौधरीलाई सपथ ग्रहण गराउन सकेका थिएनन् तर महतो संयोजक हुने वित्तिकै चौधरीले सपथ लिएका थिए । त्यतिबेला पनि सरकार र राजपा नेपालको निकटतालाई लिएर निकै बहस भएको थियो । राजपा नेपालका नेताहरु निकै उत्साहित थिए र चौधरीको सपथलाई ठूलो उपलब्धीको रुपमा लिएका थिए । 

सभामुख कृष्णबहादुर महराले सिंहदरबारमा चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदा हलमा खुट्टा राख्ने ठाउँ पनि थिएन । राजपा नेपालका नेताहरुको भरिभराउ थियो । चौधरी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट निर्वाचित भएका हुन् । निर्वचित भएको एक वर्षपछि उनले पद तथा गोपनीयताको सपथ लिएका थिए । 

फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि पार्टीकै सल्लाहमा २०७४ फागुन ११ गते कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए ।  

महतोले प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध बनाएकै कारणले चौधरीलाई सपथग्रहण गराउन सफल भएका थिए । तर महेन्द्र राययादव अध्यक्षमण्डलको संयोजक भएपछि ओलीसँग सम्बन्ध मात्रै बिग्रेन सरकारलाई दिएको समर्थन फिर्ता लियो । 

महेन्द्र राययादव २०७५ माघ ४ गते राजपा नेपाल अध्यक्षमण्डलको संयोजक भएका थिए । एक महिनापछि अर्थात २०७५ फागुन २२ गते ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यतिबेला पनि महतोले समर्थन फिर्ता लिन हतार नगर्न बैठकमा पटक–पटक आग्रह गरेका थिए । त्यतिबेला शरतसिंह भण्डारी र महतोका एउटा गुट थियो भने यता महन्थ ठाकुर, महेन्द्रराय यादव, राजकिशोर यादव, अनिकुमार झाको अर्को गुट थियो ।

दुई महिनाअघि सांसदको सपथ लिएका चौधरीलाई कैलाली जिल्ला अदालतले दोषी ठहर गर्दै जेल हालेपछि राजपा नेपाल अध्यक्षमण्डलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि ओली राजपा नेपालप्रति झन् क्रुद्ध भएका थिए । समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका लागि राजपा नेपालले पटक–पटक टाइम मागेको थियो । तर प्रधानमन्त्री ओलीले भेट्नै मानेका थिएनन् । सरकारबाट समर्थन फिर्ता लिएसँगै के भट्नु भनि टार्दै आइरहेका थिए ।

महतोपछि महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महन्थ ठाकुर दुई दुई महिनाको चक्रिय प्रणालीमा अध्यक्षमण्डलको संयोजक भए तर एकदिन पनि प्रधानमन्त्री ओलीसँग वार्ता गर्न सकेका थिएनन् । उनीहरुले प्रयास नगरेका पनि होइन तर प्रधानमन्त्री अ‍ोलीले उनीहरुलाई कहिल्यै टाइम दिएनन् ।

दोस्रो चमत्कार
अन्ततः महन्थ ठाकुरपछि दोस्रो पटक राजपा अध्यक्षमण्डलको संयोजक महतो भएको ठिक एक महिनापछि नेकपा अध्यक्ष समेका रहेका प्रधानमन्त्री ओलीसँग दुई बुँदे सम्झौता भएको छ । महतो मंसिर ४ गते दोस्रोपटक राजपा नेपाल अध्यक्षमण्डलका संयोजक भएका हुन् ।

११ महिनादेखि बोलचाल समेत बन्द रहेको अवस्थामा महतो संयोजक भएपछि एकाएक राजपा नेपालका लागि बालुवाटारको ढोका खुल्यो । र, यो ओली र महतोको दोस्तीका करण मात्र सम्भव भयो । तर पार्टीका महासचिव मनिष सुमन भन्छन्, ‘प्रधानमन्त्री ओली र संयोजक महतोबीच कुनै प्रकारको दोस्ती छैन, राजनीतिमा दुई दलका नेताबीच जस्तो सम्बन्ध हुन्छ त्यस्तै सम्बन्ध रहेका छ तर महतोको पालामा जेजति भएका छन् ती सबै संयोग मात्र हुन् ।’

‘आफूले थाह पाएअनुसार महतोले जहिले पनि प्रधानमन्त्री ओलीको काम कारवाही र व्यवहारको आलोचना नै गर्ने गरेको, उनी दुईजनामा कुनै दोस्ती नभएको महतो संयोजक भएपछि कुनै काम हुनु संयोग मात्र हो ।’ सुमनले भने । अध्यक्षमण्डलका संयोजक महतो काम गर्नमा जोशिला हुन्, नेतृत्व पाएपछि केही न केही गरि हालौं भन्ने उनको सोच हुने र आफ्नो कार्यकालमा केही नकेही नयाँ गर्दै आएको उनले दावी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप