मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

क्रिसमसमा सार्वजनिक विदा दिन माग

शुक्रबार, ०४ पुस २०७६, १४ : २८
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं  । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो ।

महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व क्रिसमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन् ।

महासंघकाअनुसार नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् । महासंघले भनेको छ,‘३० लाखको संख्यामा नेपाली ख्रीष्टियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरु महान पर्व क्रिसमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो ।’

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि क्रिसमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,‘सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।’ उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र क्रिसमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप