बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ र सुनको आयात घट्यो, निर्याततर्फ आकर्षक छलाङ

मुलुकको शोधनान्तर स्थिति सुधारोन्मुख देखियो
बुधबार, २३ पुस २०७६, १५ : ०१
बुधबार, २३ पुस २०७६

काठमाडौं । पछिल्लो समय मुलुकको शोधनान्तर स्थिति सुधारउन्मुख देखिएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आयातमा कम भइ निर्यात बढेसँगै देशको शोधनान्तर स्थिति मजबुत बन्दै गएको हो । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ को पहिलो पाँच महिनामा वैदेशिक व्यापार घाटामा झण्डै ६ दशमलव ३ प्रतिशतले गिरावट आएको देखाएको छ । 

गत वर्षको तुलनामा यस वर्ष ६ दशमलव ३ प्रतिशतले वैदेशिक व्यापार घाटा कम भएर ५ खर्ब ३३ अर्ब ६४ करोडमा सीमित भएको हो । गत वर्ष सोही अवधिमा वैदेशिक व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड रहेको थियो ।

प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्षको पाँच महिनामा गत वर्ष भन्दा २७ प्रतिशतले निर्यात वृद्धि भएको छ । गत वर्ष ३७ अर्ब ५० करोडको निर्यात भएकोमा यस वर्ष सोही अवधिमा ४७ अर्ब ६१ करोडको निर्यात भएको हो । 

निर्याततर्फ आकर्षक छलाङ मारेको नेपालले आयातमा समेत ४ प्रतिशतले कम गरेको प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । गत वर्ष ६ खर्ब ६ अर्ब ९९ करोडको आयात गरेकोमा यस वर्ष सोही अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोडको मात्र आयात गरेको छ । 
 

प्रमुख निर्यातका वस्तुहरु
आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनाको अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टील, फेल्ट र पश्मिना सलहरु रहेका छन् । 

यी मध्य उत्साजनक रुपमा पाम आयलको निर्यात भएको प्रवर्द्धन केन्द्रले जनाएको छ । सो अवधिमा पाम आयलको निर्यात गत वर्ष भन्दा ७५६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५२ करोडको पाम आयल निर्यात भएको छ । 

त्यस्तै, यस अवधिमा भटमासको तेलको निर्यातमा २७७३.४ प्रतिशतले वृद्धि भइ ३.०९ अर्ब पुगेको छ । 

यता, पोलिष्टर तथा अन्य धागो, पश्मिना, गलैंचा तथा तयारी पोसाकको निर्यातमा भने गिरावट आएको केन्द्रले जनाएको छ । गएको पाँच महिनमा गत वर्ष भन्दा ५.१ प्रतिशतले धागोको निर्यातमा ह्रास आइ ३.६२ अर्बमा सीमित भएको छ । त्यस्तै, ऊनी गलैंचाको निर्यातमा २.५ प्रतिशतले ह्रास भइ ३.२२  अर्बमा, तयारी पोशाकको निर्यातमा ०.६ प्रतिशतले ह्रास भइ २.०० अर्बमा र फलाम तथा स्टील निर्यात ५६.३ प्रतिशतले ह्रास भइ १.३४ अर्बमा सीमित हुन पुगेको छ । यस्तै, जुट तथा जुटका उत्पादनको निर्यातमा भने १४.३ प्रतिशतले वृद्धि भइ २.४२ अर्ब पुगेको छ ।  

यसैगरी समीक्षा अवधिमा १.५७ अर्बको जुस, १.४५ करोडको चिया, १.४१ अर्बको टेक्सटाइल, १.८६ अर्वको अलैंची, १.०६ अर्ब पश्मिना सल, १.१७ अर्बको फेल्ट, ५१ करोडको जडिवुटी निकासी भएका छन् ।  
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पाम आयल र भटमासको तेलको निर्यात उत्साहजनक देखिएकाले सोधनान्तर स्थिति मजबुद देखिएको प्रवर्द्धन केन्द्रले जनाएको छ । पाम तेल र भटमासको तेलको निर्यात हिस्सामात्र कुल निर्यातको ३०.७ प्रतिशत रहेको छ ।

यी उत्पादनहरु भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् । 

आयात घट्यो
यस्तै नेपालले पेट्रोलियम पदार्थ, मेसिनेरी, इलेक्ट्रिक र सुन चाँदी लगायतका गरगहनाका सामानहरु आयात गर्ने गर्छ । यी मध्ये पेट्रोलियम पदार्थ, मेसिनेरी औजार र सुन आयातले मुलुकको व्यापारमा ठूलो भार पार्ने गरेको थियो । तर यसवर्ष यी वस्तुहरुको आयातमा कमि आएसँगै समग्र व्यापार घाटालाई सकारात्मक प्रभाव पारेको छ । 

गत वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयात १३.५ प्रतिशतले घटेको छ । . आर्थिक वर्ष २०७६÷७७ को पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थको आयातमा साढे १३ प्रतिशतको गिरावट आउँदै कुल आयात ७६.१४ अर्ब मा झरेको हो ।

मुलुक लोडसेटिङ्ग मुक्त भएपछि वैकल्पिक ऊर्जाको रुपमा प्रयोग हुने डिजेल, मट्टितेल र पेट्रोलको मागमा कमी आई समग्र पेट्रोलियम पदार्थको आयातमा कमी आएको केन्द्रको भनाइ छ ।

यसैगरी फलाम तथा स्टीलजन्य उत्पादनहरुको आयातमा समेत २५.३ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ५४.७४ अर्बको मात्र फलाम तथा स्टिलजन्य वस्तुहरु आयात भएका छन् ।

अन्य, मेशिनरी तथा पार्ट्समा २.६ प्रतिशतले ह्रास भइ ४७.१२ अर्बको आयात, यातायातका साधन र तिनका पार्टपुर्जाहरु ६.३ ह्रास भइ ४१.३५ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २६.७ प्रतिशतले वृद्धि भइ २०.४३ अर्ब, अन्नको आयातमा ५.३ प्रतिशतले ह्रास भइ २०.२२ अर्ब, हवाईजहाज तथा हवाईजहाजका पार्ट्सको आयातमा २१.३ प्रतिशतले ह्रास भइ १४.३८ अर्ब र तयारी पोशाकको आयातमा ४.३ प्रतिशतले वृद्धि भइ १७.१८ अर्ब पुगेको छ ।

यस अवधिमा सुनको आयातमा ६०.४ प्रतिशतले गिरावट आएको छ । पाँच वर्षमा सुन आयात ६.९० अर्ब सीमित भएको छ । यसैगरी  औषधिको आयातमा ८.८ प्रतिशतले ह्रास भइ १३.२७ अर्ब पुगेको छ । पोलिथिन ग्रेन्युल्सको आयातमा १३.२ प्रतिशतले ह्रास भइ ९.०९ अर्बमा सीमित भएको छ । सोही अवधिमा दूरसञ्चारका सामाग्रीहरुको आयातमा ३५.२ प्रतिशतले वृद्धि भइ १६.३७ अर्ब पुगेको छ ।
यता १०.८९ अर्ब बराबरको रासायनिक मल र १.७३ अर्ब बराबरको सिमेन्ट क्लिङ्कर समेत आयात भएको तथ्याङ्कले देखाएको छ । 

यी वस्तुहरु भारत, चीन, इण्डोनेशिया, युएई, संयुक्त राज्य अमेरिका, क्यानडा, स्वीट्जरल्याण्ड, अफ्रिका, थाइल्याण्ड, साउदी अरेविया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स लगायतका मुलुकहरुबाट आयात हुने गरेका छन् ।  

आयात निर्यातको अवस्थालाई हेर्दा यस वर्ष समग्र वैदेशिक व्यापार सुधारउन्मुख रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कले समग्र व्यापारको स्थिति नै कम रहेको देखाएको छ । गत वर्ष ६४४.४९ अर्बको व्यापार भएकोमा यस वर्ष सोही अवधिमा २ दशमलव ४ प्रतिशतको कमी आई कुल ६२८.८७ अर्बको मात्र कारोबार भएको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप