विद्यालयको विडम्बना : शौच गर्न उखुबारी, पानी पिउन छिमेकतिर
रौतहट । रौतहटको एक विद्यालयका विद्यार्थी र शिक्षकहरु शौच गर्न नजिकैको उखुबारीमा र प्यास लाग्दा पानी पिउन छिमेकीको घरमा जानुपर्ने बाध्यतामा छन् ।
स्थानीय तहको निर्वाचनपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई प्राथमिकता दिइए पनि विद्यालयमा शौचालय र पानी पिउनका लागि ट्युवबेल समेत नहुनु विडम्बनापूर्ण नै हो ।
फतुवा बिजयपुर नगरपालिका वडा नं. १ गमहरियाटोल छेउमा रहेको दलित प्राथमिक विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा शिक्षक र विद्यार्थीले असुविधा झेल्दै आएका छन् ।
विद्यालयमा ट्युवबेल नहुँदा वर्षौँदेखि विद्यार्थी तथा शिक्षक पानी पिउनका लागि छिमेकतिर जाने गरेका छन् । शौचालयको व्यवस्था नहुँदा उखुबारीतिर गएर विद्यार्थी र शिक्षकले शौच गर्नुपर्ने बाध्यता छ ।
विद्यालयका प्रधानाध्यापक रामेश्वर महरा चमारले विद्यालयमा पिउने पानीको व्यवस्था, शौचालय लगायतका भौतिक पूर्वाधार नभएको बताए ।
विद्यालयको नाम पनि ‘दलित प्रावि’ र आफु पनि दलित जाती कै रहेकाले कसैले पनि विद्यालयको आवश्यकतामा वास्ता नगरेको हुन सक्ने उनको भनाइ छ ।
२०६४ सालमा स्थानीय गणेश महरा चमारले निःशुल्क डेढ कठ्ठा जग्गा दिएपछि उक्त विद्यालय निर्माण भएको थियो ।
स्थानीय बासिन्दाको चन्दा सहयोगमा बनेको फुसको घरमा विद्यालय स्थापना भएपछि दलित प्राविमा गमहरिया, हर्षाहा र बाँकेपुरका गरी कक्षा १ देखि ५ सम्म कुल एक सय २३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
विद्यालयको आफ्नो भवन तथा फर्निचर केही नभएका कारण विद्यार्थीहरु घरबाट बोरा लिएर आउने गर्छन् र त्यही बोरा ओछ्याएर पढ्ने गर्दछन् ।
विद्यालयमा रहेको ४÷५ वटा कुर्सीमा शिक्षकहरु बस्ने गर्दछन् भने विद्यालयको हाजिरी रजिस्टर लगायतका आवश्यक कागजात गाँउकै एकजनाको घरमा राख्ने गरेको प्रधानाध्यापक रामेश्वर महरा चमार बताउँछन् ।
विद्यालय भवन निर्माणका लागि यसअघि पटक पटक जिल्ला शिक्षा कार्यालय गौर धाउँदा तत्कालीन शिक्षा अधिकारीहरुले कुनै वास्ता नगरेको उनको गुनासो छ ।
नगरपालिकाका मेयर र उपमेयरको जुधाइका कारण विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कार्यालय सहयोगीले गत साउनदेखि हालसम्म तलब खान सकेका छैनन् ।
रकम अभावमा अध्ययनरत बालबालिकालाई दिवाखाजा खुवाउन समेत नसकेको महराले दुखेसो पोखे ।
विद्यालयमा दुईजना शिक्षक, एकजना बालशिक्षा कोटामा र एकजना कार्यालय सहयोगी गरेर चारजना कार्यरत छन् ।
फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनीलाल यादवले नियमित प्रकृया अनुसार विद्यालयको मसलन्द खर्च, छात्रबृत्ति रकम जाने गरेको भए पनि भवन तथा फर्निचरका लागि हालसम्म सहयोग हुन नसकेको जानकारी दिए ।
बार्षिक करोडौंको विकास बजेट हुने नगरपालिकामा बर्षौँदेखि विद्यालय तथा विद्यार्थीको समस्या समाधान नहुनु शिक्षाप्रति जनप्रतिनिधिको उदासिनताकै उदाहरण रहेको जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण