सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्धभित्र रवीन्द्र अधिकारीको खोजी

आइतबार, १९ माघ २०७६, १८ : ४०
आइतबार, १९ माघ २०७६

काठमाडौं ।  तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रथम वार्षिक स्मृति दिवसमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुने भएको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको स्मरणमा गठित ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ले राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गरेको  प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ शिर्षकमा निबन्ध प्रतियोगिता राखिएको छ । 

‘रवीन्द्र अधिकारी शब्दमा नअटाउने नेता हुनुहुन्थ्यो, विकास र समृद्धिको स्पष्ट सोच भएको दूरदृष्टि नेता हामीले गुमायौँ, विद्यार्थी राजनीतिबाट सफल हुँदै मन्त्री हुनुभएका अधिकारीको स्मरणमा निबन्ध प्रतियोगिताको आयोजना गरेका हौँ’, आचार्यले भने । उनले अधिकारीका ‘संविधानसभाः लोकतन्त्र र पुनसंरचना’, ‘समृद्ध नेपाल’लगायत राजनीति एवं विकाससम्बन्धी थुप्रै लेख प्रकाशन भइसकेको बताए ।

प्रतियोगितामा नेपालभरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरुको सहभागिता रहने र यसका लागि प्रतिष्ठानले पत्राचारसमेत गरिसकेको प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए । प्रतियोगितामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत नियमित विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन् ।

एउटै विश्वविद्यालय र क्याम्पसबाट एक वा सो भन्दा बढीले समेत सहभागिता जनाउनसक्ने पाण्डेले बताए । सहभागीले यही माघ मसान्तसम्म दुई हजार ५०० शब्दमा आफ्नो स्पष्ट परिचय खुलाएर इमेल वा अन्य माध्यमबाट निबन्ध प्रतिष्ठानको कार्यालय पोखरा–८ न्यूरोडमा पठाइसक्नुपर्नेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई रु  २५ हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । विजेतालाई आगामी फागुन १५ गते अधिकारी स्मृति दिवसमा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप