पोखरामा कोरोनाभाइरसको प्रभावः होटलदेखि सडकमा विदेशी रित्तिए
पोखरा । छिमेकी राष्ट्र चीनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि पोखरा यतिबेला सुनसान छ । अरु बेला विदेशी पर्यटकको आवागमनले भरिभराउ देखिने लेकसाइड खाली देखिन्छ । ‘गोरा देखे पनि अहिले त रहरै लाग्न थालिसक्यो, अस्ति १५ जना आएका थिए हाम्रोमा,’ पोखरास्थित बिजी बी रिसोर्टका सञ्चालक ज्याक तामाङले भने, ‘ग्रुपमा आएका थिए हेरिरम् जस्तो लाग्यो ।’
आन्तरिक पर्यटकको आगमनमा कमी नआएपनि विदेशी पर्यटकहरु पोखरामा ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन् । फाट्टफुट्ट बाहेक विदेशी पर्यटकहरु आउन छाडेको पर्यटन व्यवसायीको भनाइ छ । ‘गोराहरु आउन त ठप्प भयो,’ पर्यटन व्यवसायी तामाङले भने, ‘२/३ जनाको ग्रुप देख्यो भने रहरै लागेर आउँछ ।’
चिनियाँहरुको मुख्य चाड ‘लोहार फेस्टिभल’ को मुखैमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आगमन ठप्प भएको व्यवसायीहरु बताउँछन् । पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनका अनुसार यतिबेला चिनियाँ पर्यटकको आगमन ठप्प छ । फेस्टिभलको छेको पारेर नेपाल आउने पर्यटकको संख्या कोरोनाभाइरसको कारण रोकिएका छन् ।
नेपाल आउने चिनियाँ पर्यटकको संख्या लगभग डेढ लाख प्रतिवर्षको हाराहारीमा रहेको उनले सुनाए । नेपाल आउन चिनियाँ पर्यटकले गराएका धेरैजसो बुकिङ रद्द भइसकेको उनले बताए । ‘यो सिजनमा पोखरामा ३५ देखि ४० प्रतिशत पर्यटक हुनुपर्ने हो,’ उनले भने, ‘त्यसमा पनि २५ प्रतिशत चिनियाँ हुनुपर्ने हो । अहिले एकदमै न्युन छ ।’
यता, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल कोरोनाभाइरसका कारण पोखरामा आत्तिनुपर्ने अवस्था नभएको बताउँछन् । ‘विश्वव्यापी रुपमा प्रभाव नेपालमा नपर्ने भन्ने होइन,’ उनले भने, ‘तर, कोरोना भाइरसको कारण हामी आत्तिनुपर्ने अवस्था छैन । कोरोनाको संक्रमण भएको व्यक्ति कोही पनि पोखरामा भेटिएको छैन ।’

प्रकोपको रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण चीनमा मात्रै ३ सय बढीले ज्यान गुमाइसकेका छन् । यसैबीच चीनमा देखिएको नोबल कोरोनाभाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा पनि परेको छ । कोरोनाभाइरसका कारण चीनबाट आउनु पर्ने एक सय कामदार चीनमै रोकिएको विमानस्थल आयोजनाले जनाएको छ ।
यता, भ्रमण वर्षको लक्ष्य पूरा हुनेमा पनि कोरोनाभाइरसले संशय पैदा गराएको छ । विदेशी पर्यटकको संख्यामा कमी आएसँगै वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सफल नहुने त होइन भन्ने संशय पैदा भएको हो ।
यद्यपि, पर्यटन व्यवसायमा कोरोनाभाइरसको प्रभाव परे पनि भ्रमण वर्ष २०२० नै असफल हुन्छ भन्ने पक्षमा सरोकारवाला निकाय छैन । भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सह—संयोजक अग्नि कँडेलले कोरोनाभाइरसको कारण पर्यटन व्यवसायमा केही असर परे पनि भ्रमण वर्ष नै असफल भयो भनेर भन्न नमिल्ने बताउँछन् ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पछिल्लो ५ दिनमा दिनमा पोखराबाट भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्या बढेको जानकारी दिए । उनका अनुसार २०२० को जनवरीमा ४ हजार ८ सय ३५ पर्यटक हवाई रुटको प्रयोग गरेर पोखरा भित्रिएका छन् भने ८ हजार ४ सय २१ जना पर्यटक पोखराबाट बाहिरिएका छन् ।
स्थलमार्गबाट पनि पोखरा भित्रिनेभन्दा बाहिरिनेको संख्या बढी देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण