शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मङ्गलबार, २० फागुन २०७६, २२ : २८
मङ्गलबार, २० फागुन २०७६

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय  मजादेवी सरदारको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले  जङ्गलमा गाई र बाख्रा चराउन गएकी  सरदारलाई आक्रमण गरेको रहेको प्रहरी नायब  उपरीक्षक तिलक भारतीले  जानकारी  दिए ।

यस्तै  सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तीमा जङ्गली हात्तीले घरमा तोडफोड गर्दा लाखौँको क्षति गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट  मध्यरातमा आएको दुईवटा हात्तीको समूहले  रुपनी गाउँपालिका–६ निवासी  मकरबहादुर तामाङको घर तोडफोड गरी क्षति गरेको प्रहरीले जनाएको छ ।

हात्तीले घरसहित अन्य सामग्रीमा क्षति गरेको बताउँदै हात्तीले चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकैलगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जानकारी दिएका छन् । 

स्थानीय फूलमाया तामाङका अनुसार बनिबुतो गरेर राखेको खानेकुरासमेत हात्तीले खाएपछि छाँक टार्न आफूलाई कठिनाइ भइरहेको दुखोसो गरे । सोही हात्तीले डिकबहादुर यसमाली मगरको भान्सा घर भत्काएका छ्न भने स्थानीय खड्गबहादुर तामाङको बगैँचामा पसेर आँपको हाँगा भाँचेर क्षति गरेको जनाइएको छ । सो क्षतिबाट करिब रु एक लाख बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । 

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनको क्षति गर्दासमेत नियन्त्रणप्रति कसैले चासो नदिएको हात्ती पीडितको गुनासो छ । जिल्लाको  सप्तकोशी, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णा सवरण र  रुपनी गाउँपालिका तथा शम्भुनाथ  नगरपालिकामा हात्तीले दैनिक आतङ्क  मच्याउँदै आएकोप्रति सम्बन्धित निकायको मौनताले  स्थानीयवासी निरास भएको कञ्चनरुप नगरपालिकाका राजकुमार पासवानको  गुनासो गरे । तीन दिन अगाडि हात्तीको आक्रमणमा कञ्चनरुप नगरपालिकमा एक महिलाको  मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप