आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी विवादबारे सभामुख सापकोटाले खोले मुख

सोमबार, ०३ चैत २०७६, १८ : ५८
सोमबार, ०३ चैत २०७६

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन् ।

उनले राजनीतिक दलहरुबीच सहमति जुटेपछि मात्रै आफुले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताए । उनले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाइरस संक्रमणको बारेमा धेरै बहस  भएपनि एमसीसी पनि बहसमा नै रहेको बताए ।

उनले भने, ‘सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो । त्यो छलफल हुँदैछ । सबैतिर छलफल हुँदैछ । सत्तारुढ पार्टीमा झन छलफल हँुदैछ । बहसमै छ । कारोनाका कारणले यतातिर वहस केन्द्रीत भएपनि त्यो बहसमै छ । बेला आएपछि मैले त सहजिकरण गर्ने कुरा न हो ।’ 

उनले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पारे ।

उनले भने, ‘वरिष्ठताका आधारमा कार्यवहाक महासचिव दिईएको हो । हाम्रोबी असमझदारी धेरै भएको जस्तो मलाई लाग्दैन ।’ उपसभामुख चयन प्रक्रिया बारे पत्रकारको प्रश्नमा उनले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने स्पष्ट पारे । यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘उपसभामुखका बारेमा दलबीच समझदारी भएपछि सभामुखले  त निर्वाचन तालिका सार्वजनिक गर्ने मात्रै भूमिका हो ।’

उनले आफूले विधेयकहरु पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए । चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् । उनले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुखपाएको महसुस आफुले पनि गरेको बताए ।

उनले तीन पटक मुद्दा जित्दा पनि नागरिकता नपाएका घटनाहरु भएको स्मरण पनि गरे । उनले निर्माणाधिन संसद भवन निर्माणको काम तीब्र गतिमा अघि बढेको भन्दै प्रसम्सा पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप