कविता-कोरोनाको प्रलय
-नम्रता भट्टराई
लाग्न छोड्यो अब त 'भगवान' नामप्रति पनि विश्वास
कति मन बुझाउनु "सबै ठीक हुन्छ" भनि राखेर आश
मुश्किल भयो फेर्न यो वातावरणमा प्रशोधित श्वास
प्रताडित हुन्छ देखेर निर्दोषहरुको निष्प्राण लास
कसरी हेर्ने तिनका रोदन छन् जो साह्रै समीपका प्रिय
मान्न थाल्यौँ हामी सारा हर पल जिउन पनि त्रासदी भय
बुझ्न गार्हो समाचार बनि आउने श्रव्य-दृश्यको आशय
होइन यो आधिकारिक निकायले ख्याल-ठट्टा गर्ने विषय
किन विवश सहन रोज पूजीने ती ईश्वरको अन्याय ?
थाहा छ आखिरीमा हुनु नै छ मिथ्यारुपी पृथ्वीबाट विलय
तै पनि आफन्तको निम्ति उब्जन्छ डर मिश्रित संशय
त्रसित छन् हरेक मन -
" आयो आयो सखाप पार्न कोरोना कहरको प्रलय "
बन्द छन् ती ढुंगा कुँदिएका, श्रद्धा मिसिएका देवालय
बाध्य छन् बस्न घरमा ज्ञानका भोका सम्झेर विद्यालय
घर छाड्ने परदेशी बनेका छन् लाचार दुखाएर हृदय
हो! अब त बुद्धको उपदेश उपर पनि थाल्यो लाग्न सन्देह ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण