बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागलुङमा सिँचाइ सुविधा विस्तार

बुधबार, ३१ असार २०८३, ०४ : ०५
बुधबार, ३१ असार २०८३

सारांश

  • बागलुङमा १०७ सिँचाइ योजना सम्पन्न, ८० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार।
  • सिँचाइ कुलो र नदी नियन्त्रणका लागि १२ करोड ६६ लाख बजेट विनियोजन।
  • सात योजना प्राविधिक, बजेट वा आरक्ष क्षेत्रका कारण कार्यान्वयन हुन सकेनन्।

बागलुङ ।बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् । सिँचाइ कुलो र नदी नियन्त्रणका लागि रु १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए ।

आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् । प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठुलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन् ।

निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उनले बताए । केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन ।

जाउलेपानी–मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा–झिङ्गलबारी–रातामाटा–घम्सिन–सोरबोट–खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उनले बताए ।

यस्तै, बागपानी–कटुवाल डेरा सिँचाइ योजना, निसीखोला–५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उनले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठुलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताए । रु एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उनको भनाइ छ ।

उनका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ । काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उनले जानकारी दिए ।

“हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,” प्रमुख खड्काले भने, “सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप