खाना पकाउनेदेखि भाँडा माझ्नेसम्म, यस्तो छ नेपालमा अलपत्र पर्यटकको दैनिकी
क्यानडाको क्युवेकबाट नेपाल भ्रमणमा आएकी ६३ वर्षीय कारोल पाउलिन पछिल्लो एक सातायता ठमेलस्थित चिनियाँ रेस्टुरेन्टमा काम गर्दैछिन् ।
‘चाइनिज मी’ नामको यो रेस्टुरेन्ट काठमाडौं भ्रमण गर्ने विदेशी पर्यटकको चहलपहल हुने ठाउँ हो । तरकारी काट्ने, भात पकाउने र वितरण गर्नेलगायत काम उनले गर्दै आएकी छिन् । २४ मार्चमा नेपालमा देशव्यापी लकडाउन भएयता अलपत्र परेका आफैंजस्ता पर्यटकका लागि निःशुल्क खानाको व्यवस्था गर्नु नै उनको लक्ष्य हो ।
१५ वैशाख (२७ अप्रिल) सम्म कायम रहने यस लकडाउनका कारण विदेशी नागरिकले देश छाड्न पाएका छैनन् । ३० अप्रिलसम्मका लागि सबै व्यवसायिक उडान अवरुद्ध गरिएको छ । यस्तो घडीमा दिनमा दुई छाक खान पाउनु पनि कठिनजस्तै देखिएको छ ।
अधिकांश होटल र पसलहरु बन्द भइसकेका छन् । पाउलिन कुनै समय रेस्टुरेन्ट नै चलाउँथिन् र अहिले अवकाशपछि घुम्न निस्किएकी हुन् । उनी आफूलाई यसरी सेवामा समर्पित गर्न पाउँदा खुसी लागेको बताउँछिन् ।
‘लकडाउनको समय अन्य व्यक्तिका लागि केही गर्न पाउनु खुसीको कुरा हो । मसँग यहाँ बस्नुबाहेक अर्को विकल्प छैन । त्यसैले म यहाँ यी व्यक्तिहरुसँगै बस्न रुचाउँछु,’ उनले भनिन् ।
पाउलिनजस्तै फ्रान्स, इटली, जापान, भियतनामलगायत देशबाट आएका अन्य पर्यटक पनि चाइनिज मीमा स्वयंम्सेवकका रुपमा खटिएर निःशुल्क खानाको मज्जा लिँदैछन् । कसैले भाँडा माझ्ने, कसैले कुकको काम गर्ने, कसैले सरसफाई गर्ने काम गरेर यो रेस्टुरेन्टमा योगदान गरिरहेका छन् ।
लकडाउनका कारण कुनै समय व्यस्त रहने ठमेल अहिले सुनसान छ, तर चाइनिज मी रहेको स्थान भने संसारका सबैतिरका पर्यटकले भरिएको छ, उनीहरु सेवा गर्नका लागि पालो कुरेर बसेका छन् ।
चीनको गुवाङ्सी झुआङ क्षेत्रकी स्वयंम्सेवक पेन बिईले अहिले यस रेस्टुरेन्टमा व्यवस्थापना गर्ने काम गरिरहेकी छिन् ।
यस रेस्टुरेन्टका सञ्चालक लि लियाङ र उनका कर्मचारीहरुले शाकाहारी, अर्ध–शाकाहारी र माशांहारीका लागि बेग्ला–बेग्लै भोजनको प्रबन्ध गरेका छन् ।
पेन गत मार्चमा नेपाल घुम्न आएकी थिइन् २४ मार्चमा लकडाउन भएसँगै उनी बसेको होटलमा खाना पाक्न छाड्यो । त्यसपछि उनी घुम्दै चाइचिज मी रेस्टुरेन्टमा आइपुगिन् । ‘मैले रेस्टुरेन्टमा यस्तो काम पहिले कहिल्यैं गरेको थिइनँ र मलाई कसरी आफैं पकाउने भन्ने थाहा छैन ,’ उनले भनिन्,‘तर अहिले म जस्तै धेरै पर्यटकहरु यस्तो अर्थपूर्ण काम गर्न चाहन्छन् ।’
यस रेस्टरेन्टुले पछिल्ला दुई सातामा बिचल्लीमा परेका झन्डै ६ हजार जनालाई निःशुल्क भोजन गराइसकेको छ । सञ्चालक लिले प्रचारका लागि नभएर आफ्नो मनभित्रैबाट यो काममा लागेको बताए ।
उनले स्थानीय र व्यापारीहरुबाट यसका लागि सहयोग मिलेको पनि बताए । ‘यो ठूलो महामारी हो । फराकिलो रुपमा माया देखाउने सही समय पनि हो,’ उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण