कोरोनाको कहरका बीच आफ्ना नागरिकको उद्धारमा कुन देशको पहल कस्तो ?
कोरोना भाइरसको महामारी बढेसँगै विश्वका धेरै देशले अन्यत्रबाट उद्धार गरेर आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरेका छन् । विभिन्न देशमा लागु गरिएको लकडाउन तथा अपनाइएको सामाजिक दूरीको अभ्यासपछि देशहरुले आफ्ना नागरिकलाई भित्र्याएका हुन् ।
यस अवधिमा औपचारिक तथा अनौपचारिक रुपमा गरी ठूलो संख्यामा पर्यटक तथा अन्यत्र जागिर गरिरहेकाहरु स्वदेश फर्किएका छन् ।
अमेरिकाले मार्चअघि नै आफ्ना ३७ हजार नागरिकलाई स्वदेश फिर्ता गरेको थियो । यस महिना २२ हजार नागरिकलाई फिर्ता गराएको छ । कोरोनाको संक्रमण फैलनासाथ जनवरी २९ मै उसले हवाई जहाजमार्फत आफ्ना १ सय ९५ नागरिकलाई घर फर्काएको थियो । उनीहरुलाई क्यार्लिफोनियास्थित मार्च एयर रिजर्भ बेसमा ल्याइयो । त्यसपछि केही समय क्वारेन्टाइन राखेर मात्रै घर फर्काइयो । त्यसयता निरन्तर अमेरिकाले अन्य देशमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।
तुर्केमिनिस्तानले पनि जनवरी ३० देखि मार्च १७ सम्म चीन, रुस, युक्रेन, टर्कीलगायत कोरोनाको संक्रमण देखिएका देशबाट आफ्ना नागरिक फिर्ता लगेको थियो ।
आफ्ना नागरिक लिनका लागि २४ जनवरीमा भियतमानबाट विशेष विमान चीनको उहान गएको थियो । अलपत्र परेका २ सय नागरिकलाई भियतनामले घर फर्काएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले पनि जनवरीको अन्त्यमा आफ्ना झन्डै ३ सय नागरिकलाई उहानबाट फर्काएका थिए । त्यसयता, विभिन्न मितिमा उनीहरुले विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकलाई फर्काइरहेका छन् ।
अस्ट्रेलियाले आफ्नो देशमा बस्न सक्ने अवस्था नभएका अन्तर्राष्ट्रिय विद्यार्थीले चाहेमा घर फर्कनसक्ने पनि स्पष्ट पारिसकेको छ ।
जापानले जनवरीको अन्त्यमा उहानबाट पहिलोपटक आफ्ना २ सय ६ जना नागरिकको उद्धार गरेको थियो । त्यसमध्ये ३ जनामा कोरोनाको संक्रमण पाइएको थियो र १ जनामा कुनै लक्षण नै थिएन । त्यसयता विभिन्न मितिमा जापानले फरक देशमा आफ्नो विशेष विमान पठाउँदै नागरिकको उद्धार गरेको छ । दक्षिण कोरियाले जनवरी ३१ मा उहानबाट आफ्ना ३ सय ६८ नागरिकलाई फर्काएको थियो । फ्रान्सले पनि सोही दिन १ सय ८० नागरिकको उहानबाट उद्धार गरेको थियो । त्यसयता, विभिन्न मितिमा फ्रान्सले विदेशबाट आफ्ना नागरिक उद्धार गरिरहेको छ । अहिले भने फ्रान्स आफैं महामारीको शिकार भइसकेको छ ।
बेलायतले र जर्मनीले पनि ३१ जनवरीमै पहिलोपटक उहानबाट आफ्ना नागरिकको उद्धार गरेका थिए ।
दक्षिण एशियाली देशमध्ये १ फेब्रअरीमा श्रीलंकाले चीनबाट आफ्ना ३३ नागरिकलाई स्वदेश फर्काएको थियो, त्यही दिन भारतले पनि आफ्ना ३ सय ३४ जनालाई स्वदेश फर्कायो । बंगलादेशले सोही मितिमा ३ सय १२ जना, भारतले फेब्रअरी २ मा थप ३ सय २३ जनाको उद्धार गरेको थियो । भारतकै जहाजमा ७ जना माल्दिभ्सका नागरिक पनि उहानबाट फर्किएका थिए । त्यस्तै, नेपालले १६ फेब्रअरीमा उहानबाट १ सय ७५ जना विद्यार्थीलाई घर फर्काएको थियो, नेपालले कोभीड–१९ संक्रमण फैलिएपछि विदेशबाट आफ्ना नागरिक फर्काएको यो नै पहिलो र अहिलेसम्मको अन्तिम अवसर हो ।
क्यानेडाले ६ फेब्रअरीमा आफ्ना १ सय ७६ नागरिकलाई चीनका विभिन्न चीनबाट घर फर्काएको थियो । दक्षिण अमेरिका, युरोप, एशियालगायत क्षेत्रका विभिन्न देशले कोभीड–१९ कोरोना भाइरस फैलिएपछि यसरी विभिन्न देशबाट फरक मितिमा आ–आफ्ना नागरिकलाई घर फर्काइरहेका छन् र यो क्रम अहिले पनि जारी छ । उनीहरुलाई घर फर्काएर क्वारेन्टाइनमा राख्नका लागि विशेष कक्ष बनाइएको छ ।
दक्षिण एशियाली देशले कामदार फर्काएनन्
उहानबाट आफ्ना नागरिक फर्काएपनि दक्षिण एशियाली देशले खाडी मुलुक तथा अन्यत्र कामा खटिएकाहरुलाई कामदारले चाहेमा उसको देश फर्कन पाउने नियम लागु गरिसकेको छ । कतिपय कामदारले रोजिरोटी गुमाइसकेका छन् र उनीहरुलाई खान–बस्नकै समस्या छ । तर, पनि सम्बन्धित देशले कामदार फर्काउन चासो नदेखाउँदा उनीहरु त्यतै अलपत्र छन् । स्वदेश फर्कन चाहेका कामदारलाई फर्काउनका लागि चासो नदेखाउने देशहरुसँग भविष्यमा श्रम सम्झौता नै रद्द गर्नेगरी अध्ययन भइरहेको समेत युएईका एक उच्च अधिकारीले बताएका छन् ।
इजरायल, युएई, कतार, साउदीलगायत देशमा नेपालसहित दक्षिण एशियाली देशका कामदार अलपत्र परेका छन् । कतिपय देशले कोरोना महामारीका बाबजुद कामदारलाई बाध्यकारी रुपमा काममा लगाएको र आवश्यक सतर्कता अपनाउन नसकेको भन्दै मानवअधिकारवादीहरुको आलोचना पनि सहनु परेको छ । जस्तो, कतारले विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा खटिएका कामदारलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन नसकेको तथा उनीहरुलाई सामाजिक दूरी पालना गर्न लगाउनुपर्ने सामान्य मान्यता विपरीत कोचाकोच गरेर कोठामा राखेको भन्दै एम्नेस्टी इन्टरनेशनलले आफ्नो ध्यानाकर्षण भएको जनाइसकेको छ ।
साउदी सरकारले भने कामदारको सुरक्षालाई प्राथमिकतामा राख्न कम्पनीहरुलाई निर्देशन दिएको छ । त्यसका लागि सामाजिक दूरीलगायतका विभिन्न अभ्यास कार्यान्वयन गर्ने काम भइरहेको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ । हरेक कामदारका लागि निश्चित स्पेस छुट्टयाउन तथा बढी ५ जनाले प्रयोग गर्नेगरी शौचालयको व्यवस्था गर्न सरकारले कम्पनीहरुलाई निर्देशन दिएको छ ।
साउदीमा कोरानाको संक्रमण देखिएका व्यक्तिमध्ये झन्डै ८० प्रतिशत संक्रमण विदेशी कामदारमा देखिएको रिपोर्ट सार्वजनिक भएपछि स्वास्थ मन्त्रालयले कामदारको सुरक्षामा ध्यान दिएको हो । मलेसिया र कुवेतले पनि आफ्ना कामदारलाई घर फर्काउन अन्य देशलाई दबाब दिइरहेका छन् । मलेसियामा अलपत्र परेका दक्षिण एशियाली कामदारहरुका लागि स्थानीय संघ–संस्थाले मानविय सहयोग गरिरहेका छन् ।
(एजेन्सीको सहयोगमा/ अन्वेषण अधिकारी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण