बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राहतको नाममा गरिबमाथि भद्दा मजाक : एक महिनापछि बल्ल राहत, त्यो पनि सडेको चामल

राहत वितरणमा विभेदको आरोप
मङ्गलबार, १६ वैशाख २०७७, १२ : १९
मङ्गलबार, १६ वैशाख २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले वितरण रहेको राहतमा सडेको चामलको पोका वितरण गरेको आरोप स्थानीयवासीले लगाएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समय एक महिनाभन्दा बढी दिन बितिसकेपछि जनकपुरधाम उपमहानगरले बल्ल राहत वितरणको अभियानलाई सुरु गरेको छ । तर राहत वितरण अभियान सुरु भएसँगै राहत लिएकाहरुले उपमहानगरपालिकाले सडेको चामलको पोको वितरण गरेको आरोप लगाएका छन् ।

प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको रकम र स्थानीय सरकारले आफ्नो विपद् व्यवस्थापन कोषबाट समेत निकासा गरेको रकमले जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको हो । जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको र ढुसी परेको पाइएको छ ।

एक महिनाभन्दा पनि बढी समय प्रतीक्षा गरेर पाएको राहतले गरीब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुमा झन् आहत पुगेको छ । राहतको पोको लिएर घरमा गएर खोलेर हेर्दा ढुसी परेको कालो चामल रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ स्थित कपलेश्वर बस्ने रामचन्द्र ठाकुर हजामले आक्रोश व्यक्त गरे ।

चौतर्फी दबाब बढेपछि उपमहानगरले राहत वितरण सुरु गरेपनि गुणस्तरहीन अखाद्य सामग्री वितरण गरेको भन्दै स्थानीयवासी आक्रोशित छन् । स्थानीयवासी रामा ठाकुरले राहत सामग्री घर लिएर पुगेपछि बोरामा पोका पारिएको चामल खोलेर हेर्दा निक्कै दुःखी भएको राहत वितरण गरिएको स्थलमै गएर सो राहत फर्काइ दिएको बताइन् ।

स्थानीय मनोज साहले दुःखेसो पोख्दै भने, ‘घरमा खाद्यान्न सिद्धिन लागिसकेको थियो । विगत एक महिनादेखि हामी राहतको पखाईमा थियौँ । बल्ल राहत पाएर खुशी हुँदै घर आएका थियौँ । तर, त्यो खुसी केही बेर पनि टिकेन । घरमा चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मन नैै खिन्न भइहाल्यो ।’

‘राहत लिने मन त थिएन । तर लामो समयदेखिको बन्दाबन्दीले बेरोजगार भएको र आर्थिक अभावले सो राहत लिन बाध्य भएको थिएँ,’ उनले भने । तर राहतको नाममा सडेको चामल र ढुसी लागेको चामल पाउँदा सरकारले गरिबसँग घटिया मजाक गरेको उनले बताए ।

जनकपुरधाम उपमहानगरले जनकपुधाममा आवश्यकता अनुसारको चामल लगायतका सरसामग्रीहरु नपाउँदा प्रदेश नम्बर १ को बिराटनगरबाट खरीद गरेर ल्याइएको थियो । हरेकलाई १५ किलोग्रामको चामलको पोका दिइएको थियो ।

यता, जनकपुरधाम वडा नम्बर १६ का वडाध्यक्ष राम अशिष पञ्जियारले भने जनकपुरधाम उपमहानगरले आफैले चामल बोरा प्याक नगरेको र बिराटनगरबाट नै प्याक भएर आएको दाबी गरे । यसमा उपमहानगरको गल्ती नभएको भन्दै उनले जनकपुरधाम उपमहानगरको बचाऊ गरेको छ ।

सोमबारसम्ममा २ सय ३९ जनालाई आफूहरुले राहत वितरण गर्दा जम्मा दुई जनाको राहतमा यस्तो समस्या देखिएको वडाध्यक्ष पञ्जियारले जिकिर गरे ।

गत चैत २२ गते जनकपुरधाम उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि सर्वदलीय बैठकद्वारा १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष निकालेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीय तहले वितरण गरेको खाद्यान्न सहितको सामग्रीमा सुत्केरी र गर्भवती महिलाहरुका लागि केहि व्यवस्था नगरिएको प्रति स्थानीय महिला अधिकारकर्मीहरुले विरोध गर्दै महिलाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री थपेर वितरण गर्न माग गरेका छन् ।

राहत वितरणमा विभेदको आरोप

जनकपुरधाम उपमहानगरले राहत वितरणको लागि संकलन गरेको विवरणमा विभेद गरेको भन्दै विभिन्न वडामा स्थानीयवासीहरुले विरोध गरेका छन् ।

विपन्न वर्ग, दैनिक ज्यालादारी गरी काम गरेर खाने मजदुर वर्गहरु निकै नै समस्यामा परेका छन् । राहत सामग्रीमा विभेद गर्दा अहिले सैयौँ गरीब परिवारहरुले खान नपाएको उनीहरुको गुनासो । राजनीतिक आस्थाको आधारमा नाम संकलन गरिएको र वास्तविक भोकाहरु भोक भोकै बस्न बाध्य भएको उनीहरुको आरोप छ ।

जनकपुरधाम वडा नम्बर–१६ स्थित कपिलेश्वर बस्ने रञ्जित गिरीले भने, ‘नामवाली संकलन गर्दा हामीहरुको नाम नै संकलन गरेनन् । हामीलाई जानेर नै समावेश गरिएन । हाम्रो घरमा निकै समस्या छ भनेर सबैलाई थाहा छ,’ उनले अघि थप्दै भने– ‘अब हामीलाई सरकारले दिदैँन । त्यही भएर मागेर ल्याएर खाने गरेको छु ।’ त्यस्तै जनकपुरधाम वडा नम्बर–२ स्थित भानु चोक बस्ने अरविन्द्र साहले पनि आफूहरुलाई राजनीतिक आस्थाको आधारमा राहत सामग्रीबाट वञ्चित गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप