सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – मार्गरेट थ्याचर बनिन् बेलायतको पहिलो महिला प्रधानमन्त्री

सोमबार, २२ वैशाख २०७७, ०७ : ४२
सोमबार, २२ वैशाख २०७७

४ मेइ, १९७९ मा कन्जरभेटिभ पार्टीकी मार्गरेट थ्याचरले बेलायतको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सपथ लिइन् । अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र पढेकी थ्याचर वकिल समेत थिइन् । कन्जरभेटिम पार्टीले संसदीय आम चुनावमा ४४ सिटसहित बहुमत हासिल गरेको भोलिपल्टै उनले प्रधानमन्त्रीको शपथ लिइन् ।

मार्गरेट हिल्डा रोबर्टस्को जन्म सन् १९२५ मा ग्रानथाम, इङल्यान्डमा भएको थियो । उनी अक्सफोर्ड विश्वविद्यालयमा कन्जरभेटिभ एशोसियसनको पहिलो महिला अध्यक्ष थिइन् र सन् १९५० मा पनि संसदमा डार्टफोर्डबाट उम्मेदवार थिइन् । पराजित भएपनि त्यहाँ उनले राम्रो मत बटुलिन् ।

व्यापारी डेनिस थ्याचरसँग विवाह गरेर जुम्ल्याहा सन्तान जन्माएपछि सन् १९५९ मा उनी संसदमा विजयी भइन् ।

सन् १९६० को दशकमा उनको लोकप्रियता ह्वात्तै बढ्यो । सन् १९७० मा कन्जरभेटिभ पार्टीले निर्वाचन जितेपछि इडवार्ड हेल्थको सरकारमा उनी शिक्षा तथा विज्ञानमन्त्री थिइन् ।

सन् १९७४ मा लेबर पार्टी सत्तामा आयो । प्रतिपक्षी कन्जरभेटिभ पार्टीको छायाँ सरकारमा उनी जोयन्ट स्याडो चान्सेलर थिइन् । फेब्रुअरी १९७५ देखि उनी  इडवार्ड हेल्थको साटो पार्टीको नेता बनिन् । उनी कन्जरभेटिभ पार्टीको नेतृत्व गर्ने पहिलो महिला हुन् । उनको नेतृत्वमा कन्जरभेटिभ पार्टीले राष्ट्रिय उद्योग तथा स्रोतको निजीकरण गर्नुपर्ने माग सा¥यो । विदेशमा बेलायतको स्वार्थ रक्षा गर्नुपर्ने विषय उठायो । सन् १९७८ –१९७९ मा मजदुरहरुले तलब वृद्धीको माग गर्दैै हड्ताल गर्दा परिस्थिती सम्हाल्न नसकेको भन्दै उनले तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानको विरोध गरिन् । मार्च १९७९ मा प्रधानमन्त्री कालाघानले विश्वासको मत जुटाउन सकेनन्, र ३ मेइमा भएको आम निर्वाचनबाट मार्गरेट विजयी भइन् । 

प्रधानमन्त्री भएलगत्तै मार्गरेटले धेरै उद्योग निजीकरण, सरकारको खर्च कटौती गरिन् र विस्तारै ट्रेड युनियनको अधिकार घटाइन् । सन् १९८३ मा ५ वर्षयताकै खराब बेरोजगारी दरका बाबजुद मार्गरेट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिइन्, बेलायतले सन् १९८२ मा अर्जेन्टिनाविरुद्ध फकल्यान्ड युद्ध जितेका कारण यस्तो सम्भव भएको थियो । उनकै कार्यकालमा जिम्बावे बेलायतको उपनिवेशबाट स्वतन्त्र भयो । उनले उत्तरी आयरल्यान्डमा विभाजनकारीहरुमाथि कडा अडान पनि लिइन् । नतिजा, अक्टुबर १९८४ मा कन्जरभेटिभ पार्टीको सम्मेलनमा आईरस रिपब्लिकन आर्मीले बम बिस्फोट गरायो, मार्गरेट बल्लतल्ल उम्केर बाँचिन् ।

सन् १९८७ मा अर्थतन्त्रमा ल्याएको सुधारपछि उनी तेस्रो कार्यकाल प्रधानमन्त्री चुनिइन् । तर, बहुमत आफ्नो पक्षमा नदेखेपछि १९९० नोभेम्बरमा संसदीय नेताका लागि भएको निर्वाचनमा उनले भाग लिइनन् । जोन मेजर नयाँ नेता चुनिए, २८ नोभेम्बर १९९० मा उनले प्रधानमन्त्रीबाट राजिनामा दिइन् । सन् १८२७ पछि कुनै पनि प्रधानमन्त्रीले बेलायतमा यति लामो समय शासन गरेको यो पहिलो अवसर थियो । ८ अप्रिल २०१३ मा ८७ वर्षको उमेरमा मार्गरेटको निधन भयो । उनी ‘द आइरन लेडी’ उपनामले चिनिन्थिंन् ।

महत्त्वपूर्ण घटनाक्रम

– सन् १८९६, लण्डनमा डेली मेल पत्रिकाको पहिलो संस्करण प्रकाशित ।

– सन् १८९७, फ्रान्सको पेरिसमा आगो लाग्दा झन्डै २ सय मानिसको मृत्यु ।

– सन् १९२४, पेरिसमा आठौँ ओलम्पिक खेलको सुरुवात ।

– सन् १९८९, अमेरिकी अन्तरिक्ष यान एफीएस–३० को प्रक्षेपण ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप