आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छः सांसद विडारी

मङ्गलबार, ०२ असार २०७७, १४ : १७
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् ।  विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका हुन् । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले प्रश्न समेत गरे ।

उनले भने– ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफाट काम गरे हुनेनी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो, त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपाली त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यहि सरकारले यहि पटकबाट यस्तो काम गरोस् । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ । त्यति पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन, बजेट छुट्टयाएको छ । संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन् ।’

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस् भनेर भन्ने प्रवृतिले विकास हुन नसकेको उनले बताए । उनले भने– ‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नि बढाउन, यहाँ नि पुगेन त्यहाँ नि पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस् यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’

राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताए । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताए ।

उनले भने– ‘यत्रो छलफल गर्यो, यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँही सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नी परिवर्तन हुँदैन् । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको  ?’ अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उनले आलोचना गरे । 

उनले भने– ‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ, नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् ? कस्तो ऋण तिरेछन् ? अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौ भनेर धाक लगाउने ?’

सांसदहरु नीति निर्माण भन्दा पनि बजेटकै पछि कुद्ने गरेको उनले बताए । देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भएपनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँध्दै हिड्ने प्रवृतिले देशको विकास नभएको उनले बताए । सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनले आरोप लगाए । 

उनले भने– ‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले गर्यो । यसबाट देश विकास हुँदैन । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन् ।’ पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मन्त्रालयलाई दैनिक खर्च वेवसाइटमा सार्वजनिक गर्न आग्रह गरे ।

उनले भने– ‘कोभिड–१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनै को वेव साइट छ क्यारे ढ्याक्क हाल्नु । दिनदिनैको खर्च र आम्दानी । यति खर्च भयो, यति आम्दानी भयो, यति डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन् ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्री ज्युलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षिले । के–के न भने भनेर फुर्ति लगाउने । मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ति लाउने त्यसो किन ग¥या ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप