बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

११ वर्षपछि न्युजिल्याण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीको हत्या

शुक्रबार, ०५ असार २०७७, ०९ : ५०
शुक्रबार, ०५ असार २०७७

न्युजिल्याण्डको अकल्याण्ड सहरमा नियमित ट्राफिक जाँचको क्रममा एक निःशस्त्र प्रहरी अधिकारीको हत्या भएको छ । ड्युटीमा रहेको समय कुनै पनि प्रहरी अधिकारीको हत्या भएको सन् २००९ पछि यो पहिलो घटना हो ।

सहरको मासे भन्ने स्थानमा शुक्रबार बिहान ती प्रहरी अधिकारीसहित अर्का एक जनामाथि गोली प्रहार भएको प्रहरी कमिस्नर एन्ड्र्यु कोस्टरले पत्रकार सम्मेलनमा बताए । घाइते अर्का प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कारमा सवार आक्रमणकारीले भाग्ने क्रममा केही स्थानीयलाई पनि ठक्कर दिएका थिए । उनीहरुको पनि अस्पतालमा उपचार भइरहेको छ ।

कारमा दुई जना सवार रहेको र उनीहरुको खोजी ब्यापक बनाइएको प्रहरीले जनाएको छ । सो क्षेत्रका सबै विद्यालयहरुलाई बन्द गरिएको छ भने प्रहरीलाई हतियार पनि दिइएको छ ।

न्युजिल्याण्डमा प्रहरीले प्रायः हतियार बोक्दैनन् किनभने त्यहाँ बन्दुक सम्बन्धित अपराध कमै हुने गर्छन् भने ड्युटीमा रहेका प्रहरी कमै मात्र मारिने गरेका छन् ।

सन् १८९० यता न्युजिल्याण्डमा मात्र ३२ जना प्रहरीले अपराधिक कृयाकलापका कारण ड्युटीमा ज्यान गुमाएका छन् । अन्तिम पटक सन् २००९ मा नेपियरमा एक प्रहरी अधिकारी मारिएका थिए ।

पछिल्लो केही समय प्रहरी सशस्त्र हुनुपर्छ वा हुनुहुँदैन भन्ने विषयमा न्युजिल्याण्डमा बहस भइरहेको थियो ।

गत वर्ष क्राइस्टचर्चमा भएको गोलीबारीमा ५१ जना मारिएपछि प्रहरीले तीन जिल्लामा विवादित आपत्कालिन सशस्त्र प्रहरी टीम तयार गरेको थियो ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप