आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सलह कीरा धपाउन थाल, ड्रम आदि ठटाउन मन्त्रीको आग्रह

आइतबार, १४ असार २०७७, १३ : ३७
आइतबार, १४ असार २०७७

काठमाडौं–प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सलह किराबाट हुने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानलाई आग्रह गरेका छन् ।  

मन्त्री साहले एक विज्ञप्ति जारी गर्दै सलह कीरालाई बालीनाली र रुख विरुवा भएका क्षेत्रबाट धपाएर चरन क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने बताउँदै कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन समेत किसानलाई आग्रह गरेका छन् । 

प्रदेशको आफ्नो मन्त्रालयले सरोकारवाला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकाय र विज्ञहरूका सुझावका आधारमा सलह कीरा नियन्त्रणका लागि कार्ययोजना बनाएको जानकारी गराउँदै उनले सलह कीराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ यस कीराको उपस्थिति देखिएको क्षेत्रमा मन्त्रालयका सचिव डा.विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकहरू सहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्र्रिया गरेको जानकारी गराए । 

रुखसहित अन्नबालीमा क्षति पु¥याउने सलह कीरा नेपाल प्रवेश गर्न सक्ने सम्भावना र अनुमानका आधारमा संघीय कृषि मन्त्रालयसमेतले यसको नियन्त्रणका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरी कार्ययोजना नै बनाइसकेको बताउँदै उनले प्रदेश २ सरकारले समेत केही समयअघिदेखि नै संघीय कृषि मन्त्रालय र स्थानीय निकायहरूसँग निरन्तर सम्पर्क र संवाद स्थापित गरी सलह कीराको अवश्यम्भावी संकट निरूपणका उपायहरूबारे परामर्श गरिरहेको जानकारी गराएका छन् ।  

साथै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता जनाउँदै उनले हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको बताए । 
शनिबार बिहान ८ बजे प्रवेश गरेको भनिएको यो कीराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन सुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप