सिरहामा ८१ वर्षीया वृद्धाले जितिन् कोरोना
सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छिन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन् । उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो ।
करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी