बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाढीपहिरोको बितण्डा : कुन–कुन स्थानमा के–के घटना घटे ?

मङ्गलबार, ०६ साउन २०७७, ०७ : ५४
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं – आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएको छ । 

वर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परेको छ भने पहाडी भेगमा पहिरोले बस्तीहरु पुरिएका छन् । 

धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपनि सोमबार दिउँसोदेखि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ । 

गएराति पहिरोमा पुरिएर धादिङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

त्रिपुरासुन्दरी–६ स्थित गल्याबमा गएराती आएको पहिरोले पुरिएर २५ वर्षिय मिलन खाँण, २२ वर्षिया संझना खाँण र उनिहरुको डेढ वर्षिया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । 

यसैगरी, पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

राति करिब ३ बजे घर माथिबाट आएको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ताभएका हुन् ।

घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले बताए ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। 

काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहेको छ ।  

निरन्तरको भिषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ।

सडक अवरुद्ध

पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ । चितवन–धादिङको सीमा मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । 

गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ । 

बुटवल–तानसेन पाल्पा जोड्ने सद्धार्थ राजमार्गको पहिरो हटाइएपछि सोमबार दिउँसोबाट यातायात सेवा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।

बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बाढीले बगाएको छ । पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ । स्थानीय जिल्ला प्रशासन कार्यालयले सडक यातायात सञ्चालन गर्न वैकल्पिक सडक निर्माणको तयारी भइरहेको जनाएको छ । 

मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडकमा अवरोध भएको छ । गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ । 

पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप