सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई जेल मुक्त गर्न सांसद पोखरेलको माग

शुक्रबार, ०९ साउन २०७७, १६ : ३०
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । नेकपाका सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई मुक्त गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार सम्बन्धी संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै राज्यले आधा सजाय काटेका कैदीलाई रिहाई गर्न माग गरेका हुन् । 

उनले भने– ‘अब जेल भर्ने हैन, एउटा निश्चित अवधि पूरा गरेपछि ५० प्रतिशत दण्ड सजाय बेहोर्छ भने सबै प्रकारका अपराधीलाई अब राज्यले एक पटकलाई छुट दिने व्यवस्था गर्नुपर्छ । अहिले संक्रमणकालीन अवस्था छ । यस्तो बेलामा कारागार भरेर राख्ने हैन त्यसमा छुट दिएर जाने प्रबन्ध गर्नुपर्छ ।’

उनले जेलमा कैदीले विशेष जिम्मेवारी वापत पाउने सुविधा अन्तर्गत कटौती गर्न नहुने बताउँदै कडा खालका सजाय पाएका कैदीलाई चौकीदार नाइके बन्नबाट रोक्न नहुने बताए । उनीहरु सुध्रिएका छन् भने कारागार प्रशासनले त्यस्तो जिम्मेवारी दिन कन्जुस्याँई गर्न नहुने उनको भनाई छ । 

उनले भने– ‘अहिले बहुविवाहको केसमा परेकोले पनि छुट नपाउने अवस्था छ । महिलामाथिको हिंसा भनेको छ । कानूनी रुपमा अब हाम्रोमा बहुविवाह त हुँदै हुँदैन । तर दण्ड त हुन्छ । छोरा पायो भने बाउ बन्न पाउँछ तर श्रीमती भन्न पाउँदैन् । बहुविवाहमा जेल परेको छ भने उ नाइके हुन पाउँदैन भन्न मिल्दैन ।’ 

सांसद पोखरेलले नेपालमा रहेका कारागारको धेरै सुधार गर्न बाँकी रहेको बताए । उनले नेपालको दण्ड प्रणाली जस्तालाई तस्तै गर्ने भन्दापनि सुधार गरेर जानुपर्ने बताए ।  अहिलेको कारागार अपराधीलाई सुधारतर्फ भन्दा पनि अपराधको योजना बनाउने स्थलको रुपमा विकास भएको उनको भनाई छ । राज्यले जे सोचेर कारगार बनाएको छ भौतिक रुपमा पनि त्यस्तो नभएको र कैदीलाई सीप ज्ञान दिएर सामाजिकीरण गर्ने अवस्था नरहेको बताए । 

कारागार व्यवस्थापनका लागि विधेयक संशोधन गर्न लागिनु स्वागतयोग्य कदम भएको बताउँदै सांसद पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेकालाई रिहाई पुन आग्रह गरे । सांसद पोखरेल प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप