शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रोजगारदाता र ट्रेड युनियनबीच सहमति, चैतको पूरै र त्यसपछिको आधा तलब पाइने

मङ्गलबार, १३ साउन २०७७, २२ : १६
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । रोजगारदाता संस्था र ट्रेड युनियनका प्रतिनिधिहरुबीच श्रमिकको पारिश्रमिक भुक्तानी गर्ने विषयमा सहमति भएको छ । रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र ट्रेड युनियनका तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) आवद्व ट्रेड युनियन महासंघहरूबीच सोमबार सो विषमा सहमति भएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा लामो समयदेखि औपचारिक एवं अनौपचारिक छलफल हुँदै आएकोमा मंगलबार त्यसबारे औपचारिक सहमति भएको हो । यसअघि महासंघका उपाध्यक्ष समेत ढकाललाई यस्तो समन्वय गर्ने जिम्मेवारी दिइएको थियो । 

यसअघि पनि महासंघ लगायतका रोजगारदाताले लकडाउनको समयमा व्यवसाय सञ्चालन नभएका उद्योग प्रतिष्ठानका श्रमिकलाई ५० प्रतिशत मात्रै तलब दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो । महासंघको सुझावमा ट्रेड युनियन महासंघहरुले समेत सहमति जनाएका हुन् । सहमतिसँगै चैत महिनापछि लकडाउन अवधिसम्म व्यवसाय बन्द भएका वा काम नभएका श्रमिकले ५० प्रतिशत र व्यवसाय सञ्चालन भएका वा निरन्तर काम गर्दै आएका श्रमिकलाई साविक बमोजिम नै तलब भुक्तानी हुनेछ । चैत महिनाको भने सम्पूर्ण पारिश्रमिक भुक्तानी दिइनेछ । 

सोही विषयमा सुझाव सिफारिस गर्न वैशाख २८ गते श्रम मन्त्रालय, उद्योगी व्यवसायी र श्रमिक संलग्न हुनेगरी त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो । सोही पृष्ठभूमिमा रहेर भएको निरन्तरको गृहकार्यपछि त्यस्तो सहमति जुटेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको उपस्थितिमा भएको सो सहमति कार्यक्रममा रोजगारदाताको तर्फबाट उपाध्यक्ष ढकालका साथै, परिषदका उपसभापति भरतराज आचार्य, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले हस्ताक्षर गरेका थिए । 

त्यस्तै, ट्रेड युनियनको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र र नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) का अध्यक्ष पुष्कर आचार्य अध्यक्ष, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुंवर, मधेशी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष पल्टन ठाकुर र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिक्मतजंग भण्डारीको हस्ताक्षर थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप