शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा मुख्यमन्त्री परिवर्तनको चर्चा, सुरु भयो नेताहरुको दौडधुप

आइतबार, ०७ भदौ २०७७, १७ : ३३
आइतबार, ०७ भदौ २०७७

काठमाडौं । प्रदेश २ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश २ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश २ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो ।

योसँगै प्रदेश २ प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको ससदीय दल गठन हुनेछ । यो सँगै प्रदेश २ मा अब मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि शुरु भएको छ ।

प्रदेश २ मा हाल समाजवादी पार्टी र राजपा नेपालको अलग अलग संसदीय दल छन् । दुवै दल एक भएपछि संसदीय दलमा जसपा नेपाल अस्तित्वमा आउने छ । जसपा नेपालका संसदीय दलका नेता हुने व्यक्ति नै अब प्रदेश २ को मुख्यमन्त्री हुनेछ । त्यसैले संसदीय दलको नेता बन्नका लागि नेताहरुको दौडधुप शुरु भएको छ ।

प्रदेशसभाका सभामुख सरोज यादवले जसपा नेपालले दल एकीकरण भएको जानकारी पत्र पठाएको र त्यो प्राप्त भएको जानकारी दिए । प्रदेशसभा सञ्चालन हुने बित्तिकै एकीकरणको प्रकृया शुरु गर्ने उनले बताए । जनकपुरमा हाल निषेधाज्ञा जारी छ । त्यो हट्ने बित्तिकै बैठक बसेर दुवै पार्टीको संसदीय दलको एकीकरण प्रकृया शुरु हुने उनले बताए । 

मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेशसभाको बैठक बोलाएर एकीकरण प्रकृया टुङ्गो लगाउन भनेको सभामुख यादवले बताए । निषेधज्ञाको अवधि भदौ १४ सम्म जारी रहेछ । आइतबार सकिन लागेको निषेधाज्ञा पुन थपेर १४ गतेसम्म कायम गरिएको हो । 

निषेधाज्ञा रहेसम्म प्रदेशसभाको बैठक बस्ने छैन । संसदीय दल एकीकरण नभएसम्म त्यहाँको सरकारमा पनि हेरफेर हुने छैन । मुख्यमन्त्री, मन्त्रीहरुले सकभर यो सरकारलाई नै निरन्तरता दिन चाहेका छन् । उनीहरुले आआफ्नो तर्फबाट केन्द्रमा त्यसकै लागि पहल पनि गरिरहेका छन् ।

प्रदेश २ सरकारको अवधि लगभग दुई वर्षमात्र बाँकी छ । यसैलाई निरन्तरता दिनका लागि मुख्यमन्त्री राउतले केन्द्रमा लबिङ गरेका छन् । उनी काठमाडौंमा भएको बेला जसपाका शीर्ष नेताहरुलाई भेटेर वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जनाएको छ । त्यसका लागि आफूलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउन उनले नेताहरुलाई आग्रह गरेका छन् ।
अहिले तत्कालीन राजपा नेपालका तर्फबाट लालबाबुर राउत संसदीय दलका नेता छन् भने राजपा नेपालका तर्फबाट जितेन्द्र सोनल संसदीय दलका नेता हुन् ।

मुख्यमन्त्री राउतले वर्तमान सरकारलाई नै निरन्तरता दिन आग्रह गरिरहेको बेला जसपा नेपालका प्रदेश सांसदहरुले सरकार परिवर्तनका लागि आग्रह गरेका थिए । जसपा नेपालका १५ जना प्रदेश सांसदले शीर्ष नेताहरुलाई भेटेर मुख्यमन्त्री राउत नेतृत्वको सरकार असफल भइसकेको र यसलाई परिवर्तन गरि अर्को सरकार बनाउन आग्रह गरेका थिए ।

वर्तमान सरकारका अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको, जनतासँग गरेको प्रतिवद्धताअनुसार काम नगरेको कारण प्रदेश मन्त्रिपरिषद् पुरै परिवर्तन गरि नयाँ बनाउन उनीहरुले आग्रह गरेका थिए ।
प्रदेश २ संसदीय दलमा एकीकरण भएपछि नयाँ संसदीय दलका नेता चयन हुनेछ । बहुमत प्राप्त दलको संसदीय दलका नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान रहे अनुसार संसदीय दलको नेता बन्नका लागि दौडधुप बाक्लिएको जसपा नेपालका नेताहरु बताउँछन् ।

संसदीय दलका आकांक्षी हालका मुख्यमन्त्री राउतसहित जितेन्द्र सोनल, मनिष सुमन, योगेन्द्र राय यादव, विजय यादवलगायतका छन् । उनीहरुले आआफ्नो तर्फबाट लबिङ गरिरहेका छन् । अहिलेको सरकारमा सबभन्दा बढी आलोचना मुख्यमन्त्री राउत र अर्थ मन्त्री विजय यादवको भएको छ । दुईजनाको अन्तरद्वन्द्वका कारण प्रदेश २ का सरकार कमजोर भएको आरोप नेताहरुको छ ।

यसअघि पनि मुख्यमन्त्री पदका लागि यी दुईजनाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा लालबाबु राउतले जितेपछि विजय यादवले त्यसलाई प्रतिष्ठाको विषय बनाएर सरकारमा मुख्यमन्त्रीलाई असहयोग गरिरहेका छन् । र, त्यो असहयोगका कारण पुरै सरकार कमजोर भएको त्यहाँका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप