रिपब्लिकन पार्टीको अधिवेशन सुरु हुँदै, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने
चार्लोट्टे । अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चारदिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।
गत साता डेमोक्र्याटिक पार्टीको चारदिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गरेकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ ।
कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लिकन पार्टीले जनाएको छ । रिपब्लिकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।
विश्लेषकहरुकाअनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उनले यसअघि अघि सारेका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।
यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् । रिपब्लीकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएकी छिन् ।
राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । फक्स न्यूज च्यानललाई आइतबार दिनुभएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरुले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताए ।
विगतमा दुबै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो । तर यसवर्ष कोरोनाभाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ । रिपब्लिकन पार्टीबाट एक्लो उम्मेदवार रहेका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि (डेलिगेट्स) ले मात्र मतदान गर्नेछन् । हुनतः रिपब्लिकन पार्टीका कूल प्रतिनिधि संख्या २ हजार ५०० भन्दा बढी छन् । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ ।
चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् । प्रथम महिला मेलानिया ट्रम्पले रोज गार्डेनबाट मंगलबार सम्बोधन गर्नेछिन् । उपराष्ट्रपति माइक पेन्सले बुधबार बाल्टिमोरस्थित फोर्ट म्याकहेन्रीबाट सम्बोधन गर्नेछन् । राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीको साउथ लनबाट बिहीबार सम्बोधन गर्नेछन् जहाँ उनका समर्थकहरु ठूलो संख्यामा उपस्थित हुनेछन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण