सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चार्टर फ्लाइट भन्दा नियमित उडान महँगो, पर्यटनमन्त्रीमाथि उठ्यो प्रश्न

सरकारको निर्णयले संक्रमणको जोखिम झनै बढाउने
बिहीबार, ११ भदौ २०७७, १५ : ३९
बिहीबार, ११ भदौ २०७७

काठमाडौं ।  कोरोनाभाइरसको महामारीसँगै रोजगारी गुमाएका वा अवधि सकिएर स्वदेश फर्किन चाहेका नेपालीका लागि सरकारले सेप्टेम्बर २ तारिखदेखि नियमित रुपमा हवाई उडान सुरु गर्नेतरी तालिका सार्वजनिक छ । सेप्टेम्बर महिनाभरका लागि सरकारले ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान समेत गरी कुल ८७ वटा उडानको तालिका सार्वजनिक गरेको हो । 

उक्त तालिका अनुसार नेपाली ध्वजाबहाक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अतिरिक्त १० वटा विदेशी वायुसेवा कम्पनीहरुले नेपालको लागि सो संख्यामा उडान भर्नेछन् । ती एयरलाइन्स कम्पनीमा टर्किस एयरलाइन्स, क्याथी ड्रागन, कोरियन एयर, चाइना साउथन एयर, एयर अरेयिबा, कतार एयरवेज, फ्लाई दुबई, मलेसियन एयरलाइन्स, जजिरा एयर र सलाम एयर छन् । त्यसमध्ये जजिरा र सलामले चार्टर फ्लाइट मात्रै गर्नेछ । नेपाल एयरलाइन्स र हिमालयले दुवै प्रकारको उडान भर्नेछ भने बाँकीले नियमित उडान मात्रै गर्नेछन् । खासगरी, पीसीआर टेष्टको सुविधा नभएका साउदी अरब, कुवेत, ओमन र माल्दिभ्समा नियमित उडान हुनेछैन । 

कसले कति उडान भर्दैछ ? 
कुल ८७ उडानमध्ये सबैभन्दा बढी उडान नेपाल एयरलाइन्स (एनएसी) ले भर्नेछ । नेपाल एयरलाइन्सले कुल २९ वटा उडान भर्नेछ । जसमध्ये १७ वटा नियमित उडान र ११ चार्टर उडान हुनेछन् । एनएसीले साउदी (रियाद, जेद्दाह, दम्माम), कुवेत, कतार, युएई (दुबई) मलेसिया (क्वालालम्पुर), जापान(नारिता), र हङकङमा त्यस्ता उडानहरु भर्नेछ । 

त्यस्तै हिमालय एयरले १२ वटा नियमित र १० वटा चार्टर समेत गरी २२ वटा उडान भर्नेछ । हिमालयन एयरको जहाज सेप्टेम्बर महिनामा कतार(दोहा), कुवेत, माल्दिभ्स, साउदी(दम्माम), चीन(चोङछिङ), मलेसिया(क्वालालम्पुर) र युएई(अबुधावी) का लागि उड्नेछ । 


विदेशी एयरलाइन्समध्ये काठमाडौं आउने जहाजमध्ये नियमित उडानतर्फ मालिन्दोले क्वालालम्पुरबाट २ उडान टर्किस एयरलाइन्सले स्तानबुलबाट ४ वटा, क्याथी ड्रागनले हङकङबाट २ वटा, कोरियन एयरले सिउलबाट ४ उडान, चाइना साउथनले ग्वाञ्जाओबाट ४ उडान, कतार एयरवेजले दोहाबाट ४ उडान, फ्लाइ दुबईले दुबईबाट ३ उडान, मलेसियन एयरलाइन्सले मलेसियाबाट २ उडान र एयर चाइनाले छेन्दुबाट २ उडान भर्नेछ । त्यस्तै, चार्टर उडानतर्फ एयर अरेबियाले शारजाहबाट ३ उडान र सलाम एयरले ओमनबाट २ उडान गर्ने जनाइएको छ ।

कुन देशबाट कहिले र कति हुन्छ आउँछ ? 
देशगत हिसाबमा सबैभन्दा बढी उडान युएईबाट हुनेछ । सेप्टेम्बर महिनामा युएईका तीन शहरबाट १८ उडान हुनेछन् । जसमध्ये दुबईबाट ११ उडान, अबुधावीबाट ४ र शारजाहबाट ३ उडान हुनेछ । चीनको ग्वाञ्जाओ ४, चोङछिङबाट ४ र छेँदुबाट २ र हङकङबाट ३ समेत गरी १३ वटा उडान हुनेछ । 

त्यस्तै, मलेसियाको क्वालालम्पुरबाट १२ वटा, साउदीको रियादबाट १, दम्मामबाट ५ र जेद्दाहबाट ३ समेत गरी ८ वटा उडान हुनेछ । त्यस्तै, कतारको दोहाबाट ८ वटा, कुवेतबाट ६ वटा, टर्कीको स्तानबुलबाट ४ वटा, कोरियाको सिउलबाट ४ वटा, जापानको नारिताबाट ३ वटा, ओमनबाट २ वटा र माल्दिभ्सबाट एउटा जहाज नेपाल आउनेछ ।

पर्याप्त छैन उडान
अहिले प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट कति नेपाली फर्किन चाहन्छन् भन्ने एकीन तथ्यांक छैन । तर, गत जेठमा मलेसिया, युएई, कतार, साउदी अरब, बहराइन, ओमान र कुवेतबाट मात्रै ४ लाख ७ हजार नेपालीहरुले स्वदेश फर्किन चाहेको बताएको श्रम मन्त्रालयको तथ्यांक छ । 

तर, सरकारी अधिकारीहरु भने पछिल्लो समय ती देशहरुमा अर्थतन्त्र खुल्न थालेकोले नेपाल आउन नसकेकाहरु पुनः रोजगारीमा फर्किएकाले जेठमा आउन चाहेका सबैजना नेपाली फर्किने अवस्था नरहेको बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता राजन पौडेल नाम टिपाएका सबै नेपाली नेपाल आउने सम्भावना नरहेको बताउँछन् । ‘त्योबेला उहाँहरु आत्तिनुभएको थियो, डराउनुभएको थियो । त्यसैले उहाँहरु घर फर्किहाल्न चाहनुहुन्थ्यो । कतिपयले टिपाइराखौं न त भनेर पनि टिपाउनुभयो होला, पौडेल भन्छन्, ‘अहिले कति काममा फर्किसक्नुभयो । उहाँहरु सबै आउनुहुन्न ।’ 
सरकारले उद्धार उडानमार्फत् करिब ५४ हजार नेपालीलाई घर फिर्ता गरिसकेको जनाएको छ । तर अहिले पनि नेपाल फर्किन चाहनेको संख्या कम नभएको बताइन्छ । त्यसमाथि ठूला चाडबाड नजिकिएकोले त्यो संख्या थप बढेको समेत बताइन्छ । 

युएईबाट २५ देखि ३० हजार नेपाली फर्किन आँकलन छ । युएईमा धेरै श्रमिकहरु होटल र हवाई क्षेत्रसँग सम्बन्धित कामको लागि जाने गरेको र कोभिडको सबैभन्दा ठूलो असर यी दुई क्षेत्रमै देखिएकोले सो देशमा धेरैले रोजगारी गुमाएका छन् । त्यहाँबाट एक महिनामा १८ उडान हुने तय गरिएको छ । यसबाट बढीमा ३ हजारजना मात्रै घर फर्कन सक्छन् । 

यस्तै, कतारबाट करिब ७ हजार नेपाली फर्किनसक्ने अनुमान गरिएको छ । तर कतारमा एक महिनामा ८ उडानमार्फत् करिब १४ सय नेपाली मात्रै घर फर्किन सक्छन् । यस्तै अवस्था अरु देशमा पनि छ । 
तर, सेप्टेम्बर महिनामा गर्ने तय भएका ८७ वटा उडानबाट बढीमा १५ हजार जना नेपाल आउन सक्छन् । यसमध्ये खाडी मुलुकबाट ६६ हुने उडानबाट ११÷१२ हजार नेपाली मात्रै फर्किन अवस्था छ । 

भाडादर चार्टरभन्दा पनि महँगो
नेपालमा हुने उडानमा कडाई गरिएपछि नेपाल आउन लाग्ने हवाई भाडा भने निकै उकालो लाग्न थालेको छ । उद्दार उडानमा महँगो तिरेर आएका नेपालीले भन्दा नियमित रुपमा टिकट काटेर आउनेको महँगो पर्न जाने अवस्था देखिएको छ । 

अन्तर्राष्ट्रिय उडानको जहाजको अधिकतम भाडादर इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन (आयटा) ले तोक्ने गरेको छ । एशोसिएसनले तोकेको अधिकतम भाडादर सामान्य प्रचलित भाडादर भन्दा निकै महँगो हुन्छ । आयटाले सो भाडादर चार्टर उडानलाई समेत विचार गरेर तोक्ने भएकोले चार्टर उडानभन्दा पनि निकै माथि हुने गरेको हो । 

अहिले नेपाल फर्कनेको संख्या अत्यधिक रहेको तर कोटा सीमित मात्रै हुँदा इन्टरनेशनल एयरलाइन्सहरुले अधिकतम मूल्यसम्ममा टिकट बिक्री गर्न थालेका छन् । युएईमा यसअघि १ हजार ३ सय दिराममा चार्टर फ्लाइट हुँदै आएको थियो । अहिले एयरलाइन्सहरुले २ हजार ३ सय दिरामसम्म लिन थालेका छन् । अरु सबैतिर यस्तै अवस्था छ । 

मन्त्रालयले भन्छ, ‘एक हप्ता हेरौं’
पर्यटन मन्त्रालय आफैं पनि चार्टर उडानभन्दा पनि नियमित उडानको भाडादर महँगो हुन गएको स्वीकार गर्छ । पर्यटन मन्त्रालयका सहप्रवक्ता पौडेल भन्छन्, ‘हामीले भाडा बढाएका होइनौं, जुन पहिले थियो अहिल पनि त्यही नै हो । तर, सीमित मान्छे मात्रै नेपाल आउन सकेको भएकोले एयरलाइन्स कम्पनीहरुले अधिकतम भाडादर चार्ज गर्न थाल्नुभएछ, यो चार्टर उडानभन्दा पनि महँगो हुन गएको अवस्था रहेछ ।’
तर यसका लागि मन्त्रालय तत्कालै ठोस् कदम उठाउने पक्षमा छैन । ‘समस्या पहिचान गरिसक्नुभएको रहेछ, समाधानको उपाय के हुन्छ त ?’ प्रश्नमा पौडेल भन्छन्, हामीले हिजो मात्रै उडान तालिका सार्वजनिक गर्यौं । अब एक हप्ता हेरौं । एक हप्ताको अवस्था हेरेर थप निर्णय लिन्छौँ । 

पर्यटनमन्त्री योगेश भट्टराईले भने यसमा कुनै जवाफ दिएनन् । पर्यटन मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्न र सेप्टेम्बरदेखि हुन लागेको उडानबारे सार्वजनिक गर्न आयोजना गरिएको भर्चुअल बैठकमा भट्टराईले पत्रकारको यो प्रश्नको कुनै उत्तर नदिई त्यतिकै टारेका छन् । 

तर, यसअघिको उद्धार चार्टर उडानको समयमा भन्दा पनि थोरै संख्यामा मात्रै नेपालीहरु फर्किन पाउनेगरी कोटा निर्धारण गरिएको भन्दै विदेशमा बसेका नेपालीहरु पर्यटनमन्त्रीदेखि रुष्ट बनेका छन् । उनीहरुले विदेशी एयरलाइन्स कम्पनीसँग साँठगाँठ गरेर यसो गरिएको आरोप समेत भट्टराईमाथि लगाउन थालेका छन् । 

विमानस्थल तथा यातायातको व्यवस्थापन गर्दा जोखिम हुने भन्दै यसरी कोठा निर्धारण गरेको सरकारको तर्क छ । तर यसले संक्रमण रोकथाम हुनुको सट्टा झनै बढ्ने विज्ञहरु बताउँछन् । 
कात्तिक पहिलो सातादेखि चाडबाड सुरु हुन्छ । असोज मध्यसम्म नेपाल आइपुगे मात्रै दशैंअघि नै २ साताको होम क्वारेन्टिनको शर्त पालना गर्न सकिन्छ । तर, त्यसभन्दा पछि आउनेको दशैं क्यारेन्टिनमै वित्छ । यस्तो अवस्थामा यो शर्त हुने सम्भावना बढी हुन्छ । दशैंको समयमा परिवारभन्दा अलग भएर बस्न नचाहने भएकोले उल्लंघन गर्ने र गर्न प्रेरित गर्नेको संख्या समेत बढ्छ ।  

यसो हुन नदिई सरकारको स्वास्थ्य शर्त पालना गराउन असोज मध्यसम्ममा धेरैभन्दा धेरैलाई नेपाल आउन दिनुपर्छ । तर, त्यो डेडलाइनसम्मको उडानलाई सरकार आफैंले सीमित गरिदिएको छ । यसले गर्दा दशैंको समयमा थप जोखिम सरकार आफैंले निम्त्याइरहेको विश्लेषण समेत स्वास्थ्य विज्ञहरुको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप