बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीहरु भन्छन्ः ‘निषेधाज्ञाको स्वरुप परिवर्तन गरौं’

बुधबार, १७ भदौ २०७७, १६ : ३२
बुधबार, १७ भदौ २०७७

काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड १९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरुको भनाई छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड रोकथामका लागि निषेधाज्ञा गरिएपनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताए । अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकार योग्य नहुने भएपनि मानिसको जीवन रक्षाका लागि मात्रै निषेधाज्ञा स्वीकार गरिएको उनले बताए ।

पछिल्लो समय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भएपनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्ने बताए । उनले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी देशको सीमा नाकामा कडाई गर्नुपर्ने, अन्तर जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाईकासाथ पालना गर्नुपर्नेमा जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प नरहेको पनि अग्रवालले बताए । उनले संक्रमणको अवस्थालाई नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सूचारु गर्ने विषयमा समानान्तर व्यवस्थापन गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरु मारमा परेको बताए । सरकारले लकडाउन गर्दै गर्दा अल्पकालिन वा दिर्घकालिन विकल्प प्रस्तुत गर्न नसकेको समेत उनले बताए । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिकहरु त्रसित बनेकोले लामो समय यस्तै अवस्था रहे जीवन रक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनसक्ने बताए । लकडाउनका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालिन र दिर्घकालिन विकल्प दिनुपर्ने उनले बताए । सरकारले निषेधाज्ञालाई खुकुलो बनाए सबै व्यवसायीहरु सचेत बनेर व्यवसाय सञ्चालन गर्ने पनि कटुवालले बताए । 

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताए । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायीहरु विस्थापित हुने भएकाले दुवै पक्षलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुनै सबैभन्दा उत्तम विकल्प हुने बज्राचार्यले बताए । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अथवा निषेधाज्ञाको स्थिति लामो समय रहे देशको कुल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिन्छ । पछिल्लो समय लामोसमय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ ।

त्यस्तै अन्य मूलुकको आर्थिक वृद्धिदर पनि नकारात्मक असर परेको देखिन्छ । कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चिनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि देखिएको छ । भारतको कूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ । त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप