शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिडियाखानाका जीवजन्तु सङ्कटमा

बिहीबार, २५ भदौ २०७७, ०७ : ०१
बिहीबार, २५ भदौ २०७७

ललितपुर – कोरोना भाइरस (कोभिड–१९)का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ ।

मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर चिडियाखानामा अवलोकनकर्ता आउन छाडेपछि आम्दानीको स्रोत बन्द भएसँगै समस्या थप जटिल भएको छ ।

गत चैत देखिको लगातार बन्दसँगै भ्रमणकर्ता चिडियाखाना जाने काममा रोक लगाइएको छ । त्यसका कारण वन्यजन्तुसँगै यहाँका काम गर्ने कर्मचारी पनि आर्थिक समस्यामा परेको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताए ।

वन्यजन्तु पाल्नकै लागि चिडियाखानाका कर्मचारीको तलब साउनदेखि नै आधा कटौती गरिएको छ । पोखरेलले रेखदेख र भरणपोषण गराउने कर्मचारीलाई आलोपालो गर्न नमिल्ने, त्यसैले आफू र वन्यजन्तु बचाउन तलब कटौती गरेर भए पनि चलाइरहेका छौँ भने ।

चिडियाखानामा ७५ जना कर्मचारी छन् । अब यस्तै भए चिडियाखाना चलाउनै नसक्ने अवस्था आउने उनी  बताउँछन् । 

राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत आएपछि सदर चिडियाखाना नयाँ रूपमा सञ्चालन भएको २५ वर्ष पूूरा भइसकेको छ । सुरुको पाँच वर्ष सरकारले दिएको बजेटमा चल्यो । त्यसपछि २० वर्ष चिडियाखानाले आफैँ आम्दानी गरेर सरकारलाई बुझाउन सफल रह्यो । अहिले सङ्कटको बेला चिडियाखानाका कर्मचारीले सरकारको सहयोगको बाटो हेरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप