शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग

बिहीबार, २५ भदौ २०७७, १२ : ३२
बिहीबार, २५ भदौ २०७७

बुटवल । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा लामो समयदेखि पदाधिकारीहरु रिक्त रहँदा त्यसको असर देखा पर्न थालेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।  विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीहरु तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत एक वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्दै तत्काल पदाधिकारीको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

  विश्वविद्यालय अभिभावकविहीन हुँदा पढाइमा परेको समस्या समाधानमा थप जटिलता भएको भन्दै यस विषयमा गम्भीर बन्न विद्यार्थीहरुले सरकारसँंग माग गरेका छन् ।

  लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरुले कलेजमा पत्रकार सम्मेलन गरी एक वर्षदेखि अभिभावकविहीन विश्वविद्यालय मातहतका क्याम्पस र विद्यार्थीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए ।

  पत्रकार सम्मेलनमा कलेजका विद्यार्थी रोशन घिमिरेले कोरोनाले थला पारेको शैक्षिक क्षेत्रमा एक वर्ष देखि अभिभावक नहुंँदा विद्यार्थीहरुलाई बिभिन्न समस्या भएको बताए । उनले विद्यार्थीहरुको भविश्य समेत अन्यौलमा पारेको बताए ।

  पोखरा विश्वविद्यालय मातहतमा मुलुकभरी ६८ वटा कलेज संचालनमा रहेका छन् भने ती कलेजमा ३० हजार ७ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

  पत्रकार सम्मेलनमा लुम्बिनी इन्जिनियरिङ कलेजका निर्देशक तुल्सी सापकोटाले शिक्षा क्षेत्रमा राजनीति नगर्न सरकारलाई आग्रह गरे । विश्वविद्यालयमा रिक्त पदाधिकारीहरुको तत्काल नियुक्ति हुनुपर्नेमा जोड दिंदै उनले पदाधिकारीको अभावमा पोखरा विश्वविद्यालय मातहतका कलेजमा अध्ययनरत विद्यार्थीको पढाई र परीक्षा प्रणाली नै अस्तव्यस्त भएको बताए । यसबारेमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप