बिचौलियाको मारमा केरा किसान
पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् ।
उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरे, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।
आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उनी बताउँछन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उनको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनले दुखेसो पोखे ।
जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्छन् । बारीबाट प्रतिकोसा रु तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले रु आठसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जिल्लाभरमा उनको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उनले बताए । उनले भने, “मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित हुन् ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्छन् । “जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने”, उनले भने, “दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उनका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।
अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण