सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसाय विविधिकरण गर्दै आयल निगम, फर्नेस तेलको बिक्री सुरु

सोमबार, ०५ असोज २०७७, १४ : ३३
सोमबार, ०५ असोज २०७७

काठमाडौं । नेपाल आयल निगमले फर्नेस तेलको आयातमा सहजीकरण गरिदिने भएको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसनका डिपोहरुसँग समन्वय गरेर नेपालको औद्योगिक क्षेत्रको लागि आवश्यक पर्ने यस्तो तेलको आयातमा सहजीकरण गरिदिने भएको हो । यसअघि व्यवसायीहरु आफैले भारतबाट त्यस्तो तेल खरिद गर्दै आएका थिए । व्यवसायीले आफैले किन्दा प्रक्रिया पनि झन्झटिलो हुने भएकोले निगमले यसमा सहजीकरण गरिदिन लागेको हो ।

५/६ वर्षअघिसम्म निगम आफैले यस्तो तेलको आयात र बिक्री गर्ने गथ्र्यो । त्यसबेला विद्युत् प्राधिकरण अन्तर्गतको मल्टिफ्युल सेन्टर, डीडीसी लगायत संस्थानहरुले ठूलो परिमाणमा त्यस्तो तेल किन्दै आएका थिए । तर, मल्टिफ्युल सेन्टर बन्द भएपछि तेलको माग घटेको भन्दै निगमले यस्तो तेलको आयात बन्द गरेर व्यवसायीहरु आफैंले त्यस्तो तेल ल्याउन पाउने व्यवस्था गरिदिएको थियो । पछिल्लो समय यसको माग बढ्न थालेपछि निगमले त्यस्तो सक्रियता देखाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार तेल आवश्यक हुने औद्योगिक प्रतिष्ठानले विराटनगर र अमलेखगञ्जका डिपोलाई खरिद आदेश दिनुपर्नेछ । सोअनुसार निगमले भारतीय आयल कर्पोरेसनको डिपोसँग यस्तो तेल खरिदका लागि समन्वय गर्दै व्यवसायीलाई टीटी उपलब्ध गराइदिनेछ । त्यसको ढुवानी भने स्वयम् व्यवसायीले नै गर्नेछन् ।

यस्तो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ । यसलाई डिजेलको प्रतिस्थापनको रुपमा जेनेरेटरहरु चलाउन प्रयोग समेत गरिन्छ । डिजेलभन्दा करिब ४० प्रतिशत सस्तो हुने भएकोले उद्योगीहरुले यो तेललाई रुचाउँदै आएका हुन् । अहिले यो तेलको माग वार्षिक ४ सय टनसम्म पुगको अनुमान निगमले गरेको छ । जबकी अघिल्ला वर्षहरुमा यो २ सय टनभन्दा पनि कम आयात हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप