अठार वर्ष गोहीसँगः ३० प्रतिशत रात नदी किनारको बगरमा
नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न सक्दैन तर चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्षदेखि सहायक संरक्षण अधिकृत पदमा कार्यरत वेदबहादुर खड्काको दैनिकी यसैगरी बित्ने गरेको छ ।
निकुञ्जको गोही प्रजनन् केन्द्र हेर्दै आएका खड्काको गोहीको अण्डा सङ्कलन गर्ने समयमा ३० प्रतिशत रात नदी किनारको बगरमा बित्ने गर्दछ । निकुञ्ज हुँदै बग्ने। नदीमा फागुनदेखि वैशाखसम्म धेरै समय उहाँले नदीमै अण्डा सङ्कलनमा बिताउँछन् ।
विसं २०४५ मा सगरमाथा राष्ट्रिय निकुञ्ज निकुञ्जमा रेञ्जर पदबाट सेवा शुरु गरेका खड्का विसं २०५७ मा चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आए । विसं २०६३ मा लाङ्टाङ राष्ट्रिय निकुञ्ज सरुवा भई जानु भए पनि तीन वर्षपछि पुनः यही फर्किए ।
यहाँ आएदेखि उनले निरन्तर गोहीसँग बिताउँदै आएका छन् । गोहीको अण्डा सङ्कलन, अण्डा प्रजनन केन्द्र ल्याएर आवश्यक तापक्रम मिलाई कोरल्नेदेखि बच्चा हुर्काएर खोला नदीमा छोड्नेसम्मको काम उहाँकै नेतृत्वमा हुँदै आएको छ । सँगै कछुवा, गिद्धको प्रजनन केन्द्र पनि उनकै नेतृत्वमा छ ।
उहाँले गरेको कामको प्रकृति हेर्दा आङ नै सिरिङ हुने गर्दछ । निकुञ्ज आसपासका नदी किनारमा सामान्य पालको घरमा उनले धेरै रात बिताएका छन् । गोही, बाघ, हात्ती, गैँडा, अजिङ्गरजस्ता हिंस्रक जनावरको बासस्थानसँगै उनको पनि रात बित्ने गरेको छ । खड्का भन्छन्, “मलाई गते बार खासै थाहा हुँदैन । काम कति भयो भन्नेमा मात्रै ध्यान हुन्छ ।”
कहिल्यै आफ्नो बिदा पूरा सदुपयोग नहुने गरेको उनको भनाइ छ । “१० महिनापछि दशैँमा घर गएँ” उनले भने, “घर जान्छु भन्दाभन्दै नौ महिना भएछ । नौ महिनामा घर जान नहुने प्रचलनअनुसार १० महिनामा बल्ल घर गएँ ।”
मूल घर सर्लाहीको हरिवन भएका खड्काका श्रीमती र छोराछोरी काठमाडौँमा बस्छन्। एक छोरी चिकित्सक, अर्की छोरी बिडिएस अध्ययनरत हुन् भने छोरा कक्षा १२ मा पढ्दै हुन् । उनले भने, “घरमा कहिलेकाहीँ मात्रै जाँदा छोराछोरीले ‘हाम्रो बुबाको छोराछोरी नै गोही हुन्’ भन्ने गर्दछन् ।”
परिवारलाई भन्दा सङ्कटापन्न अवस्थामा पुगेको गोहीलाई बढी माया गर्ने खड्का एक पटक नदीमा जाँदा १४ रातसम्म बगरमा सुतेको स्मरण गर्छन् । गोहीको अण्डा सङ्कलन गर्न, अवस्था बुझ्न, उनीहरूको आनीबानी अध्ययन गर्न नियमित नदीमा जाने गर्छन् । यसरी जाँदा एक जना डुङ्गा चलाउने बोटे मात्रै साथमा हुने गर्दछन् । खड्का स्थानीय माझी बोटे झैँ घुम्दै गर्छन् । सँगै लगेको चामल त्यहीँ नदी किनारमा पकाएर उनले खाने गर्छन् । नदी किनारमा झट्ट हेर्दा उनलाई कसैले नेपाल सरकारको अधिकृत भनेर पत्याउनै मुस्किल पर्छ ।
त्यसो त उनी अरु समयमा पनि गोहीसँगै हुनुहुन्छ । प्रजनन् केन्द्रमा रहेका ५०० भन्दा बढी साना ठूला गोहीको रेखदेख उनले गर्दै आएका छन् । उनले यसका अतिरिक्त चरा, बाघ, गैँडा, हात्तीजस्ता जनावरको पनि अध्ययन र अनुसन्धान गर्दै आएका छन् । समय समयमा आफूले गरेको अध्ययनलाई लिपिबद्ध गरेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने गरेका छन् । कतिपय उनका लेख नेपालका अनलाइन र पत्रपत्रिकामा पनि पढ्न पाइन्छ ।
रात दिन नभनी घडियाल गोही संरक्षणमा खटिनुभएका खड्काको जागीरको ५८ वर्षे सेवाअवधि आगामी पुसमा सम्पन्न हुँदैछ । उनले सम्हाल्दै आएका यो काममा अब को आउला र कसरी काम गर्ला भन्ने प्रश्न पनि उठ्ने गर्दछ । उनले नेपाल सरकारको ‘जागीर’ नभनी संरक्षणमा देखाएको योगदान संरक्षण क्षेत्रका लागि अतुलनीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण