शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका दुई अध्यक्षको जुँगाको लडाइँ

सोमबार, १५ मङ्सिर २०७७, १२ : ३८
सोमबार, १५ मङ्सिर २०७७

सङ्घीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रूपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा विगतमा झैँ यतिबेला पुनः फुटको सङ्घारमा छ भन्दा फरक नपर्ला । सरकार गठनकै बेला भएका अनेक विवादका बीच इतिहासमै एउटै पार्टीका दुई अध्यक्ष भएको यो नौलो पार्टीको अभ्यास नेपाली माटोमा प्रायः असफल भइसकेको छ ।

जनताले नेकपा नेताका विकासप्रेमी नाराका आधारमा भोट दिएर दुई तिहाइ बहुमत पु¥याइदिएर परीक्षणका लागि वैधानिक तरिकाले सत्तामा पु¥याएकै हुन् । तर जनचाहना अनुसारका कुनै पनि काम गर्न नसकेको यो सरकार बाहिरीभन्दा पनि आन्तरिक विवादमा रुमल्लिएरै अढाइ वर्ष व्यतित गरिसकेको छ । अहिले नेपालका कम्युनिस्टहरुको बोलीचाली एकातर्फ र व्यवहार अर्कोतर्फ देखिएको महसुस् जनतालाई भएको छ । सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटनासमेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले सत्तामा पनि पु¥याएकै हुन् । तर पूर्वमाओवादी र पूर्वएमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन । यो स्थायी सरकार हो र ५ वर्ष आरामले काम गर्ला भन्ने जनताको कल्पना पनि पूरा हुन नसक्ने अवस्थामा अहिले पार्टी पुगेको छ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सिर्जना भएको सुन्न, देख्न र लेख्न पर्दा आफैँलाई समेत लाज लागिरहेको छ ।

यस अवस्थाले गर्दा जतिसुकै दुई तिहाइ मत ल्याए पनि सरकार बनाउने र चलाउने भनेको जम्मा आधा कार्यकाल नै रहेछ भन्ने कुरा देखिएको छ । किनकि नेपालको संविधानमा कुनै पनि प्रधानमन्त्रीले एक पटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयु दुई वर्ष मात्रै हुने हो कि भन्ने आशङ्का बढेको छ । यस्तो अवस्थामा दुई तिहाइ भए पनि, १० वटा पार्टी मिलेर सरकार बनाए पनि आखिर दुई वर्ष नै आयु हो भने किन एउटै पार्टीलाई बहुमत दिनुप¥यो र ? चाहना भए जति पार्टी सबै सरकारमा गए पनि त आखिर दुई वर्ष मात्रै हो । अब यो नाम मात्रैको नेकपाको दुई तिहाई बहुमतले पनि आखिर पूरा समयअवधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउँमा छ तर अवस्था त्यस्तै देखिएको छ । दुई ठूला नेताबीच भएको भनिएको गोप्य भद्र सहमति नै यो अवस्था ल्याउने आधार बनेको छ । यसैगरी दुई ठूला महत्त्वाकाङ्क्षी नेता र आफूलाई सर्वेसर्वा ठान्ने, अलिकति पनि गल्न नचाहने, जहिले पनि जुँगाको लडाइँ लड्ने बानी भएका नेताहरुको बानी सुधार हुन नसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा पनि यो अवस्था आएको हो भन्न सकिन्छ । पार्टी पद्धतिबाट सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुनेथिए । यो पार्टी त केवल दुई जना हालका अध्यक्षको एक्ला एक्लै निर्णयले बनेको हुनाले अहिले आएर यी दुवै नेताको जुँगाको लडाइँको शक्तिले पार्टी फुटाउने कि जुटाउने भन्ने अवस्था आएको छ । व्यक्तिवादी चरित्र हावी हुँदा देखापर्ने यस्ता प्रतिअसरको हेक्का अब अन्य पार्टीले पनि राख्नुपर्ने बेला भएको छ ।

 यसै पनि विश्वमा कम्युनिस्ट शासन र पद्धति लोप हुँदै गइरहेको अवस्था देखिएको छ । पुराना मार्क्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालीन अवस्थाका लागि राम्रो सिद्धान्त भए पनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिँड्नाले र ती सिद्धान्त समय सापेक्ष रूपमा परिमार्जन गर्नु त कता कता त्यसमा भएका कमा र ह्रस्वदीर्घसमेत परिवर्तन गर्नुहुँदैन भन्ने चिन्तन भएका कम्युनिस्टहरुका कारण विश्वमै कम्युनिस्ट पतन हुँदै गइरहेको यथार्थ हो । यसैबीच नेपालमा मदन भण्डारी जस्ता दूरदर्शी नेताको जन्म भयो, जसले कम्युनिस्ट पार्टीमा नयाँ सिद्धान्त जनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिस्टहरुलाई पनि यो सिद्धान्त समय सापेक्ष ठीकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालका प्रायः कम्युनिस्टहरुले यही सिद्धान्त अनुसरण गरिरहेको पाइन्छ । कम्युनिस्ट पार्टी भन्ने बित्तिकै बन्दुकको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी नयाँ जनताको जनवादी सिद्धान्त अनुरूप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ ।

यसैका प्रयोगहरु नेपालमा पटक पटक भइसकेका छन् । झापा विद्रोहदेखि माओवादीको जनयुद्ध र मधेसका भूमिगत सशस्त्र समूहसम्म आइपुग्दा नेपालमा हरेक खालका प्रयोग भए । ती सबै प्रयोगले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए । जे होस् जनताको बहुदलीय जनवादको सिद्धान्तमा टेकेर हिँडिरहेको तत्कालीन एमालेले पुराना कम्युनिस्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने मान्यतालाई अघि सार्नु र पुँजीवादी कम्युनिस्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिस्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिस्टहरु संसारबाट लोप भइरहँदा नेपालमा भने झन् उर्वर बन्दै गए । परिणाम तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादी पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भए । फलस्वरूप अन्य दलहरुलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिस्टको सत्ता चलाउनुपर्ने कुरामा दुई ठूला कम्युनिस्ट पार्टीहरु चुनावको मुखमा एकबद्ध भएका हुन् । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा यो नयाँ प्रयोग थियो र जनताले पनि भारी मत दिएर नेकपालाई सत्तामा पु¥याएका हुन् ।

नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिस्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिस्ट आन्दोलनका उतारचढाव, विभिन्न कालखण्ड हुँदै परिमार्जित कम्युनिस्ट सिद्धान्तको प्रयोग र वैधानिक कम्युनिस्ट सरकार साँच्चै अध्ययन गर्न लायक विषयवस्तु बनेका थिए । पुँजीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिस्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन । फलस्वरूप यो सरकार टिकाउन हुँदैन भन्ने पक्षमा विश्वका शक्तिशाली पुँजीवादी राष्ट्रहरु नै हाम फालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरु खोज्ने, कुनै कमी कमजोरी पत्ता लगाई असफल बनाउने, भए नभएका कृत्रिम परिवेश सिर्जना गरी आतङ्क फैलाउने, कुनै नेतागणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्र गर्न कम्मर कसेर लाग्न थाले । यिनै कारणले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्वहरुको चुङ्गुलमा ओली सरकार पर्न गयो । सरसर्ती हेर्दा बाहिरतिरको, अन्य दलहरुको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको आफ्नै दलको अवरोध बाहिर देखापरेको अवस्था यद्यपि छ ।
 

यतिबेला प्रचण्ड र ओली नै यो पार्टी फुटाउने वा जुटाउने निर्णयकर्ता बनेका छन् यद्यपि अब दुई अध्यक्षको कुरा मिलेर मात्रै हुन्न भन्ने उद्घोष माधव नेपालले पनि गरेका छन् । लिखित रूपमै पार्टीका बैठकमा औपचारिक ढङ्गले एक अध्यक्षले अर्को अध्यक्षलाई आरोप प्रत्यारोप गरेर जग हँसाउने खालको केटाकेटी खेल खेलिरहेका छन् । यी नेताहरुको दादागिरी र स्वेच्छाचारिताले पार्टीलाई त डुबायो नै, यसका कारण अप्रत्यक्ष रूपमा देशलाई नै अघि बढ्नबाट अवरोध खडा भइरहेको छ । देशमा विकास निर्माणका कार्य अवरुद्ध बनेका छन्, कोरोनाको महामारीको व्यथा, बाढी पहिरोको व्यथा थन्किएर बसेको छ । अन्तर्राष्ट्रिय सीमा मिलाउने काम अवरुद्ध छ । राज्यलाई आर्थिक, भौतिक, सांस्कृतिक तवरले अघि बढाउने काम रोकिएका छन् । सबैको ध्यान प्रधानमन्त्रीको बन्ने र सरकार कसले चलाउने भन्नेमा मात्रै केन्द्रित रहेको छ र वास्तवमा देश नै बन्धक बनिरहेको छ ।

अन्त्यमा जिम्मेवार पार्टी र देश हाँकिसकेका शीर्ष नेताहरुको हविगतका कारण जनतामा नैराश्यता बढेको र बढ्दो भ्रष्टाचारबाट सबै वाक्कदिक्क भइसकेका छन् । फलस्वरूप सरकार कमजोर भएको मौकामा हिन्दू राज्य बनाउने, सङ्घीय राज्य खारेज गर्ने, धर्म निरपेक्षता हटाउने, गणतन्त्र खारेज गर्ने र राजसंस्था स्थापना गर्ने माग राखेर हाल मरिसकेको राजतन्त्र पुनः व्युँताउने कसरतमा केही दल तथा समूह मिलेर सक्रिय भई लागिरहेका छन् । जुन गणतन्त्रवादी भन्नेहरुका लागि, जनताको संविधान बनाएको दाबी गर्नेहरुका लागि, नेपालमा समाजवाद आउनै लागेको दाबी गर्नेहरुका लागि, सुखी र समृद्ध नेपाल बनाउने नारा ल्याउनेहरुका लागि, विकासले फड्को मारी नेपाललाई स्विजरल्यान्ड बनाउने चुनावी मसला बाँड्नेहरुका लागि गतिलो झापड पनि हो । यसले जनताको चाहनामा कुठाराघात मात्रै गर्दैन कि भाइभाइको लडाइँले जग हँसाई समेत गराएको छ । यसका साथैसाँच्चै कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने तमाम कार्यकर्ता र शुभेच्छुकप्रति त यो लाजको विषयसमेत भएको छ । 

त्यसकारण अब यी दुई पार्टी मिलेर बनेको नेकपा एउटै पार्टी हुनु जरुरी छैन । दुई वा सो भन्दा बढी पार्टी बनाई आआफ्नै पसल थापेर अरू नाम मात्रका कम्युनिस्ट पार्टी जस्तै बनेर बसे हुन्छ । जनताप्रति र राष्ट्रप्रति जिम्मेवार हुन नसक्ने नाम मात्रैको एउटा पार्टी अब जनतालाई आवश्यक छैन । त्यसकारण अलग अलग भएर आआफ्ना एजेन्डा ल्याई पुनः जनतालाई आश्वस्त पार्दै गए देशको, पार्टीको र जनताको भलो हुनेछ । अतः अब नाम मात्रैको एउटा पार्टी नेकपाको अस्तित्व समाप्त भइसकेको हुनाले वारपार गरी देशलाई बन्धनबाट मुक्ति दिलाउन सबैको प्रयास होस्, सद्बुद्धि पलाओस् र नयाँ बन्ने पार्टीहरु नयाँ उमङ्गका साथ आउन्, शुभकामना छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप