आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो ।
काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताए ।
हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ वटा समूहलाई बीउ वितरण गरिएको उनले बताए । “सधैँ बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यहीँ उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ”, उनले भने ।
नगरपालिकाले अहिले वितरण गरेको आलुको बीउ उत्पादन भएपछि पहिलो पटक बिक्री गर्न पाइँदैन । उत्पादित आलुलाई चिस्यान केन्द्रमा राखेर अर्को वर्ष मात्रै वितरणको तयारी गरिएको छ । “बीउका लागि उत्पादन भएको आलु पहिलो पटक खानका लागि प्रयोग हुँदैन, उक्त आलु नगर क्षेत्रभित्रका अन्य कृषकलाई वितरण गर्छौँ”, उनले भने ।
बीउ उत्पादनका लागि व्यास–५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०÷३० क्विन्टल आलु वितरण गरिएको छ । हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फत १० रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिए ।
“यसअघि सहकारीका सदस्यलाई मात्रै आलुको बीउ उत्पादन गर्ने गरेका थियौँ, अब अन्य कृषकलाई पनि लक्षित गरी आलुको बीउ उत्पादनका लागि नगरपालिकाले बीउ उपलब्ध गराएको छ”, उनले भने ।
नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ । कृषकलाई वितरणका लागि दुई पटकसम्म बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नभरेका कारण वडा कार्यालयमार्फत नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ । “वडा कार्यालयलाई आलुको बीउ वितरणका लागि पैसा पठाएका छौँ, वडा कार्यालयले आफैँले खरिद गरेर कृषकलाई वितरण गर्नेछन्”, वाग्लेले भने ।
नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त
-
विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
-
महासचिव शंकरको प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार, अष्टलक्ष्मीसँग सवाल–जवाफ
-
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
-
ललितपुरमा मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते