म पचाल झरना
–प्रकाश न्यौपाने
जति अग्लो भएर झरेको छु
जति ठूलो भएर उँधो खसेको छु
त्यति नै
उभा ठडिएका
ठूला दुःख छन् मेरा,
त्यति नै
अग्ला व्यथा छन् मेरा
सुन्न र सुनाउन बाँकी कैयौँ
कथा छन् मेरा
म पचाल झरना ।
देख्नेका आँखाहरूले
फगत पानी बगेको देख्छन्
तर
म पानी हैन
आँशु बनेर युगौँदेखि
खसिरहेछु
विश्वास लागेन भने
चाखेर हेर्नुहोस् हुजुर
मेरो नुनिलो स्वाद
म पचाल झरना ।
हेरिरहेछु म वर्षौंदेखि
मेरै आँखा अगाडिबाट
फाटेका कुर्कुच्चा बोकेर
हिँडेका भरियाहरूलाई
तर
अहँ...
कहिल्यै फर्केर एक टक
मतिर हेरेर सुस्ताउने समय मिलेन उनीहरूलाई
सायद
विचरा... तिर्खाएका छन् उनीहरू पनि
म जस्तै सागर भेट्न
म पचाल झरना ।
नआएका होइनन्
हातमा फित्ता र औजार बोकेर
देशलाई दिमाखले नाप्नेहरू
तर
नापेर गए मेरो टुप्पो र छेउ
खै..
कसले नाप्ने मेरो गहिराइ
र त
सदियौँदेखि म गुमनाम छु
म पचाल झरना ।
आफ्नै आँगनको सरकारले
चिनेन हुजुर मलाई
त्यो परको सिंहदरबारले के चिन्थ्यो ।
अनि
सुनेको छु मेरै नाम बेचेर
मैभन्दा अग्ला रहर खडा गरेका छन् अरे
सहरतिर
तर
आज पनि म भने
आँखा अगाडि साँघुरिँदै गएको
आँगन देखेर रोइरहेछु
म पचाल झरना ।
अचेल
आउँछन कहिलेकाहीँ
देश दर्शन गर्न
यही बाटो भएर बटुवाहरू
घरि मलाई हेर्छन्, घरि छेउको बस्ती हेर्छन
घरि छेउको बस्ती हेर्छन्, फेरि मलाई हेर्छन्
घरि आहा...! गर्छन्
घरि कठै...! गर्छन्
म भने यता
बस्तीमा पसेको भोकमरी र गरिबी
देखेर खसिरहेछु,
आँखा अगाडि साँघुरिँदै गएको
आँगन देखेर रोइरहेछु
हो
म गुमनाम– बेखबर पचाल झरना ।
रास्कोट नपा, कालिकोट, कर्णाली
(कालिकोट, कर्णाली प्रदेशमा रहेको पचाल झरना नेपालको मात्र नभएर एसियाकै अग्लो झरना रहेको दाबी गरिएको छ । तर यसको उचित व्यवस्थापन, प्रचार प्रसार र संरक्षण नगरिँदा गुमनाम छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण