सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ खोप

मङ्गलबार, २३ मङ्सिर २०७७, १३ : ५७
मङ्गलबार, २३ मङ्सिर २०७७

लन्डन । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।  फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ । 

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन् । 

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ ।  बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ ।

यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप