बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

मङ्गलबार, २३ मङ्सिर २०७७, १४ : १६
मङ्गलबार, २३ मङ्सिर २०७७

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो ।  नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ । 

 मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न  स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो । 

आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने  नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप